लोक आवाज,
काठमाडौँ मंसिर १५ । नेपाल सरकारले श्रीलंकामा आएको विनाशकारी बाढीबाट जनजीवनमा भएको क्षति र व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले रबिबार जारी गरेको विज्ञप्तिमा श्रीलंकाली सरकार र त्यहाँका नागरिकप्रति समवेदना प्रकट गर्दै, द्विपक्षीय सम्बन्धको आत्मीय भावनाअनुसार कठिन परिस्थितिमा नेपाल सरकार दृढतापूर्वक साथमा रहेको जनाएको छ।
सरकारले दिवंगतको परिवारजनप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ। यसै क्रममा नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर आर्थिक सहायता दिने निर्णय पनि गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्स मार्फत पीडित जनताको क्षति प्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपाल सरकार र राष्ट्रपतिको यो पहलले दुई देशबीचको एक्यबद्धता र सहयोगको स्पष्ट संकेत दिएको छ।




प्रतिक्रिया !