लोक आवाज ,
काठमाडौँ , १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १८औँ खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेका कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्दै चौथो जित दर्ता गर्यो। यससँगै काठमान्डु प्लेअफ नजिक पुगेको छ भने कर्णालीको प्लेअफ यात्रा थप जटिल बनेको छ।
काठमान्डुका लागि जेहरार्ड इरास्मस ४३ रनमा अविजित रही खेलमा सर्वाधिक रन बनाए। उनका ३३ बलमा २ चौका र २ छक्का समावेश थिए। आकाश त्रिपाठी ८ रनमा आउट , वेन चाल्र्सवर्थ ३४ रनमा बोल्ड ,मिलिन्द कुमार १५ रनमा रनआउट , जोन सिम्पसनले २१ बलमा आक्रामक ४ चौका र २ छक्का सहित योगदान दिए , रसिद खान डकआउट , भिम सार्की ६ रनमा अविजित रहे । कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए भने पवन सर्राफले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ७ विकेट गुमाउँदै १४९ रन बनायो। गुल्सन झा २२ बलमा ६ चौका र ३ छक्का सहित अविजित ४९ रन बनाएर शीर्ष स्कोरर बने।
काठमान्डुका रासिद खानले २ विकेट, जबकि करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए।
काठमान्डुले यसअघि ५ खेलमा ३ जित र २ हार बेहोरेको थियो। यस जितसँगै उनीहरू प्लेअफको दहलीजमा पुगेका छन्। कर्णालीले भने ५ खेलमा १ जित मात्र दर्ता गर्न सकेको छ।
सोमबार कुनै खेल हुने छैन।



प्रतिक्रिया !