लोक आवाज ,
काठमाडौँ , १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आधिकारिक एकता भएको छ। आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकृत संरचना र सहकार्यका आधारमा एकता घोषणा गरिएको हो।
एकीकरणसम्बन्धी सहमतिपत्रमा रास्वपातर्फबाट कार्यबहाक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले तथा विवेकशील साझातर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार रास्वपाको राजनीतिक सिद्धान्त, संरचना र नेतृत्वलाई विवेकशील साझाले निःशर्त स्वीकार गर्नेछ भने स्व. उज्वल थापा तथा विवेकशील अभियानको योगदानलाई आधिकारिक रूपमा दस्तावेजीकृत गरी मान्यता दिने सहमति भएको छ।
यस्तै, विवेकशील साझाबाट आएका नेताहरूलाई आपसी सहमतिका आधारमा मनोनयन गरिने र उनीहरूलाई केन्द्रीय समिति सदस्यको सरह प्राथमिकता प्रदान गरिने उल्लेख छ।
एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, निलो पृष्ठभूमिमा सेतो गोलो र बीचमा निलो घण्टी रहेको झण्डा कायम रहने तथा चुनाव चिन्ह ‘घण्टी’ यथावत् राखिने सहमतिपत्रमा उल्लेख गरिएको छ।







प्रतिक्रिया !