बारामा पानी उद्योगका व्यवस्थापक हत्या प्रकरणमा दुई अभियुक्त पक्राउ

बारामा पानी उद्योगका व्यवस्थापक हत्या प्रकरणमा दुई अभियुक्त पक्राउ

लोक आवाज,
बारा मंसिर १४ । बारामा पाइन उद्योगका म्यानेजरको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पर्सौनी गाउँपालिका–६ भलुही चौकस्थित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या अभियोगमा वीरगञ्जका २१ वर्षीय राजन कुमार राम र घद्द वर्षीय प्रमोद साह तुरहा पक्राउ परेका हुन्।

मंसिर १२ गते बिहान उद्योगबाट करिब २५ मिटर उत्तरतर्फ खदियामा सिंहको शव फेला परेको थियो। प्रहरीका अनुसार मृतकको शरीरमा धारिलो हतियारले आक्रमण गरिएको देखिन्थ्यो। अनुसन्धानका क्रममा राजन र प्रमोदको संलग्नता पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राजन पाइन फ्याक्ट्रीमा चालकका रूपमा काम गर्थे। गत वर्ष गढीमाई मेलाका क्रममा गाडीको क्लच जलेको विषयलाई लिएर म्यानेजरसँग उनको झगडा भएको थियो। सोही घटनापछि उनी काम छोडेका थिए तर पछिल्लो समय फेरि काममा फर्केका थिए।

उद्योगले पानी ११० रुपैयाँमा बिक्री गर्ने व्यवस्था भए पनि राजनले ११५–१२० रुपैयाँसम्ममा बेच्दै आएको अनुगमनमा खुलेपछि मंसिर १० गते म्यानेजरले उनलाई पुनः कामबाट हटाएका थिए। सोही रिसइबीका कारण राजनले प्रमोदसँग मिलेर हत्या योजना बनाएको प्रहरीले जनाएको छ। मंसिर ११ गते राति मदिरा सेवनपछि दुुवै जना धारिलो हतियार लिएर उद्योगमै पसेर छुरा तथा इँटाको प्रहारबाट उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटना भएको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले करिब १६ घण्टाभित्रै भारततर्फ भाग्दै गरेका दुुवैजनालाई पक्राउ गर्न सफल भएको छ। हत्यामा प्रयोग भएका छुरा र इँटा पनि बरामद गरिएको प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए। दुवैजनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार