लोक आवाज ,
जनकपुरधाम , १२ मंसिर – मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा विपक्षी पक्षका अधिवक्ताहरूको बहस जारी रहँदा मुद्दा पुनः हेर्दा–हेर्दै मा परेको छ।
रिट निवेदक रक्कीप्रसाद साहका अनुसार आज दिनभर विपक्षी पक्षका कानुन व्यवसायीहरूले बहस गरे पनि केही अधिवक्ताको बहस बाँकी रहेकाले सुनुवाइ टुंगिन सकेन। बिहीबार निवेदक पक्षबाट बहस सुरु भए पनि त्यही दिन हेर्दा–हेर्दैमा परेको मुद्दा आज पनि अन्त्य हुन नसक्दा अब अर्को पेशी सोमबारका लागि तोकिएको छ।
आगामी सोमबार विपक्षी पक्षको बाँकी बहस सकिएपछि निवेदक पक्षले जवाफी बहस गर्नेछ र त्यसपछि मात्र अदालतले आदेश वा फैसला गर्ने अपेक्षा गरिएको छ।
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै तीनवटा रिट दर्ता भएका छन्। रक्कीप्रसाद साहसहित २ जना तथा अर्जुन शाह, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यद्वारा दायर रिटमा बहस भइरहेको हो।
यसअघि सर्वोच्च अदालतले मधेस प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।
कार्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै कार्तिक २४ गते बिहान बर्दिबासस्थित एक होटेलमा शपथ गराएकी थिइन्।




प्रतिक्रिया !