फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी सुरु

फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी सुरु

लोक आवाज,
काठमाडौँ मङ्सिर १२ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र म्यादी अस्थायी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन सम्बद्ध निकाय तयारीमा जुटेका छन्। नयाँ मतदाताको सङ्ख्या अघिल्लो अनुमानभन्दा बढेपछि एकीकृत निर्वाचन सुरक्षा योजनामा म्यादी प्रहरी एक लाख ३२ हजार थप गर्नु पर्ने आवश्यकता देखिएको हो।

गृह मन्त्रालयका सह–सचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिसकेको छ। निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा जिल्ला सुरक्षा समिति मार्फत भर्ना प्रक्रिया तीव्रतापूर्वक अघि बढाइनेछ। निर्वाचनमा खटिने म्यादी प्रहरी ४० दिन काम गर्नेछन् र तलब, लत्ताकपडा तथा यातायात खर्च जस्ता सुविधा प्राप्त हुनेछन्। नेपाल प्रहरीले हाल ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको छ। केन्द्रीय सुरक्षा समितिले निर्वाचन अघि, निर्वाचन अवधिभर र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ। पहिलो चरणमा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेना परिचालन हुने योजना छ। म्यादी प्रहरीले नेपाल प्रहरीलाई सहयोग गर्नेछन्।

हालसम्मको मतदाता नामावली अनुसार नयाँ मतदाता फोटो तथा औँठाछाप सहित तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८ जना थपिएका छन्। यससँगै कूल मतदाता संख्या एक करोड ८१ लाख २३ पुगेको छ। आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्न त्रुटि सच्याउने वा उजुरी दिने समय दिइरहेको छ। गत निर्वाचनमा एक करोड ८५ लाख मतदाता रहेको र १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार