लोक आवाज,
रौतहट मङ्सिर १२ । रौतहटमा पछिल्ला चार महिनामा सवारी दुर्घटनाको दर तीव्र रूपमा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्र निगाहपुरले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म जिल्लामा ३०६ वटा दुर्घटना भएका छन्। तीमध्ये १४ जनाले ज्यान गुमाए भने ५०० भन्दा बढी घाइते भएका छन्।
यस अवधिमा ट्राफिक नियम उल्लंघनका घटनासमेत ठूलो संख्यामा दर्ता भएका छन्। नियम विपरीत सवारी साधन चलाएको अभियोगमा २ हजार ६५१ चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए। कारवाहीबाट २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। महिनागत रूपमा हेर्दा साउनमा ९७८, भदौमा ६७९, असोजमा ४२५ र कात्तिकमा ५५१ सवारी साधन कारवाहीमा परेका छन्। दुर्घटनाका घटना भने सबैभन्दा धेरै कात्तिकमा भएको प्रतिवेदनले उल्लेख गरेको छ। साउनमा १७, भदौमा ४९ र असोजमा ९९ दुर्घटना भएका थिए।
सडक सुरक्षा प्रवर्धनका लागि कार्यालयले चार महिनामा एक हजार ३८५ सचेतना कार्यक्रम सञ्चालन गरेको छ। मातृभाषामा ट्राफिक शिक्षा, विद्यालयस्तरका कक्षा, हेल्मेट–सिटबेल्ट प्रयोगबारे जनचेतना तथा सामुदायिक अभियानमार्फत १९ हजार ३६५ जनालाई प्रत्यक्ष रूपमा पहुँच पुगेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बढ्दो दुर्घटना रोक्न नियमपालना, सुरक्षा सामग्रीको अनिवार्य प्रयोग र निरन्तर जनचेतनामार्फत सडक सुरक्षा सुधार अभियानलाई अझ प्रभावकारी बनाइनेछ।




प्रतिक्रिया !