लोक आवाज ,
काठमाडौँ, ११ मंसिर । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र सह–सञ्चालक छविलाल जोशीको आज तय भएको सुनुवाइ पुनः स्थगित गरिएको छ।
रवि लामिछाने पक्षका कानुन व्यवसायीले पेशी सारिदिन अनुरोध गरेपछि न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले सुनुवाइ मिति पर सारिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
यसअघि पनि पाटन उच्च अदालत र बुटवल इजलासका पेशीहरू वकिल पक्षको निवेदन तथा सर्वोच्च अदालतमा रहेको मूल मुद्दाको मिसिल उपलब्ध नहुँदा निरन्तर स्थगित हुँदै आएका छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा दुवैलाई करिब ११ करोड रुपैयाँ सामूहिक बिगो तोकिएको छ।
रवि र जोशीले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतस्वरूप बुझाए पनि व्यक्तिगत बिगो निर्धारण नभएकाले दुवैलाई हालसम्म रिहा नगर्ने निर्णय कायम छ।
हाल रवि लामिछाने नख्खु कारागारमा र छविलाल जोशी भैरहवा कारागारमा रहेका छन्।
स्रोत , देशसंचार डट कम




प्रतिक्रिया !