लोक आवाज,
काठमाडौं मङ्सिर ६ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भृकुटीमण्डपमा आयोजित बागमती प्रदेश कमिटी सभालाई सम्बोधन गर्दै एमालेलाई उत्तेजित पार्ने र नजिकिँन दिने काम नगर्न सरकार र अन्य दलहरूलाई चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले भने, “एमालेलाई उत्तेजित बनाउने काम नगर्नुस्। लोकतन्त्रलाई योभन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। योभन्दा बढी अगाडि बढ्छु भन्ने ठान्नुहुन्छ भने तपाईंहरूका लागि हितकर हुने छैन।” ओलीले अहिलेको सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै एमाले पुनः संवैधानिक तवरले सरकार बनाउने प्रयासमा रहेको बताए। उनले लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह गर्दै सबै दलहरूलाई समेत अपिल गरे।
उनका अनुसार संसद पुनर्स्थापना भएपछि सर्वपक्षीय सरकार गठन गर्ने योजना रहेको छ। ओलीले भने, “सरकार र दल तयार नभए जनता अघि बढ्नेछन्। त्यसको अगुवाइ एमालेले गर्छ। अहिले देखा परेका बाघ कागजको बाघ हुन्। कागजले तर्साउन सक्दैन।” अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत सन्देश दिदै भदौ २४ गतेको घटनालाई महिमामण्डन गरेकोप्रति आपत्ति जनाए। उनले भने, “प्रधानमन्त्री हुनुभएकोले देशभरको आगजनी, तोडफोड र आतंकलाई सहि ठान्न सकिँदैन।” ओलीको यो अभिव्यक्ति अहिलेको सरकार, संवैधानिक प्रक्रियामा अनिश्चितता, र लोकतान्त्रिक मार्गमा एमालेको प्रतिबद्धतालाई उजागर गर्ने खालको रहेको विश्लेषकहरूले टिप्पणी गरेका छन्।




प्रतिक्रिया !