लोक आवाज,
काठमाडौँ मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीले उठाएका मुद्दा र मागहरू न्यायोचित रहेको बताएका छन्। आफूले पनि वर्षौंदेखि त्यही मुद्दा उठाउँदै आएको उनले स्पष्ट पार्दै जेनजी पुस्ताको भूमिकालाई निर्णायक भने।
शनिबार पेरिसडाँडामा आयोजित ‘जेनजीसँग नेकपा’ कार्यक्रममा बोल्दै प्रचण्डले जेनजी युवालाई औपचारिक रूपमा पार्टी प्रवेश गराए। उनले राष्ट्रिय एकता, समृद्धि र राजनीतिक स्थिरताका लागि नयाँ पुस्ताको सक्रियता अत्यावश्यक रहेको उल्लेख गरे।उनका अनुसार, देशमा थुप्रै समस्या दीर्घकालीन रूपमा थिचिएका छन्। “सरकार र सडक दुवैतर्फबाट प्रयास हुँदा पनि सुनुवाइ नभएको परिवेशमा युवाहरू सडकमा उत्रेपछि मात्र सबैले सुन्न बाध्य भए,” प्रचण्डले भने।
जेनजी र नेकपाको मुद्दा धेरैजसो समान भएकाले एकसाथ काम गर्न सकिने प्रचण्डको भनाइ थियो। नेकपासँग जोडिन आएका जेनजी युवाप्रति उनले धन्यवाद दिँदै, यो सहकार्यले देशभर नयाँ सन्देश जाने विश्वास व्यक्त गरे।




प्रतिक्रिया !