लोक आवाज ,
ताप्लेजुङ , ३० कार्तिक । ताप्लेजुङमा सञ्चालन भइरहेको शल्यक्रियासहितको निःशुल्क आँखा शिविरमा परीक्षणको दोस्रो दिनसम्म १३३ जनामा मोतियाबिन्दु पाइएको छ। शिविरको पहिलो दिन शनिबार ६५३ जनाले परीक्षणका लागि नाम दर्ता गराएका थिए भने आइतबार १९७ जनाले नाम दर्ता गराउँदै कुल संख्या ८५० पुगेको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङका अनुसार नाम दर्ता गराएका मध्ये १३३ जनाको आँखाको शल्यक्रिया आवश्यक देखिएको छ। तिलगंगा आँखा अस्पतालका निर्देशक तथा प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा शल्यक्रिया प्रक्रिया आइतबार बिहानदेखि निरन्तर जारी छ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेले अबेरसम्ममा कम्तीमा १०० जनाको मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गर्ने लक्ष्यसहित तयारी भइरहेको बताए। डा. सन्दुक रुइतसँगै उनका छोरा डा. सागर रुइत पनि शल्यक्रियामा संलग्न छन्।
नेपाल नेत्रज्योति संघले शिविर सुरु हुनुभन्दा अघिल्लो दिन पनि परीक्षण सेवा उपलब्ध गराएको थियो भने शल्यक्रिया सेवा आइतबारबाट नियमितरूपमा सञ्चालन भएको हो। बुधवारसम्म चल्ने यो शिविर नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य पहलमा तिलगंगा आँखा अस्पताल, तिलगंगा फाउण्डेशन, फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनको सहकार्यमा भइरहेको छ।




प्रतिक्रिया !