धनुषामा वडाध्यक्ष हत्या प्रकरण: प्रहरीका सहायक हवलदारसहित दुईजना पक्राउ

धनुषामा वडाध्यक्ष हत्या प्रकरण: प्रहरीका सहायक हवलदारसहित दुईजना पक्राउ

सुनिल साह

जनकपुरधाम , २८ कार्तिक – धनुषामा एक जनप्रतिनिधिको हत्या प्रकरणमा नेपाल प्रहरीका सहायक हवलदारसहित दुईजना पक्राउ परेका छन्। शुक्रबार साँझ करिब पौने ७ बजेतिर मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या भएको थियो। घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रादेशिक अस्पताल जनकपुरधामबाट नियन्त्रणमा लिइयो भने अर्का अभियुक्तलाई एम्बुलेन्समार्फत फरार हुने क्रममा धारापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा धनुषाका प्रवक्ता गणेशबहादुर बमका अनुसार पक्राउ पर्नेहरूमा सोही स्थानका ३५ वर्षीय धर्मनाथ यादव र सप्तरीमा कार्यरत नेपाल प्रहरीका सहायक हवलदार ३५ वर्षीय शम्भु यादव रहेका छन्। घटनाको समयमा दुवैजनाले स्थानीय प्रकाश यादवका बुवाको श्राद्धका लागि आयोजना गरिएको भोजमा उत्पन्न विवादका क्रममा वडाध्यक्षलाई गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

वडाध्यक्षलाई छुट्याउन पुगेका उनका दाजु र भाइलाई समेत खुकुरी प्रहार गरी घाइते बनाइएको प्रहरीले बताएको छ। गम्भीर अवस्थामा रहेका घाइतेहरूलाई घटनापछि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको थियो।

घटनाबारे जानकारी पाएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव अस्पताल पुगेर मृतकको परिवार र घाइतेहरूसँग भेटघाट गरेका छन्। उनले दोषी जो कोही भए पनि कडा कारबाही हुने स्पष्ट गर्दै सरकारले पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

उता, घटनास्थल वरपर अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले घटनाको वास्तविक कारण र अन्य संलग्नता हुन सक्ने व्यक्तिहरूबारे पनि तथ्य संकलन गरिरहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार