सुनिल साह ,
जनकपुरधाम, २६ कात्तिक । धनुषामा गरगहना लुटपाटको उद्देश्यले एक वृद्ध महिलाको हत्या भएको घटनामा प्रहरीले छिमेकी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–७ बस्ने ४५ वर्षीया पवित्रा मण्डललाई सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।
उक्त घटनामा त्यही वडाकी ६२ वर्षीया चन्द्रकला देवी दास तत्माको हत्या भएको प्रहरीले जनाएको छ। सोमवार राति करिब ९ बजेतिर घर नजिकै उनको हत्या भएको थियो। राति हराएको भनिएकी चन्द्रकलाको शव घरदेखि करिब ५ सय मिटर टाढा खेतमा फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थल नजिकै शंकास्पद अवस्थामा फेला परेकी पवित्रा मण्डललाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेकी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले जनाकारी दिए।
प्रहरीका अनुसार, मण्डलले गरगहना लुट्ने उद्देश्यले चन्द्रकलामाथि आक्रमण गरेकी थिइन्। घटनापछि मृतकका शरीरबाट सुनका झुम्का २ थान, बाली २ थान, मंगलसूत्र २ थान र खुट्टामा लगाउने चाँदीका २ थान कडा हराएका थिए। प्रहरीले ती सबै गरगहना बरामद गर्न सफल भएको जनाएको छ। साथै, हत्यामा प्रयोग गरिएको एक थान दविया पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा योजनाबद्ध रूपमा लुटपाटको उद्देश्यले हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय बासिन्दाहरूले यो घटनाले गाउँमा त्रास फैलाएको बताएका छन्। प्रहरीले सुरक्षा सतर्कता बढाएको र अपराधीविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन्।




प्रतिक्रिया !