लोक आवाज,
जनकपुरधाम कार्तिक २४ । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ। पदीय मर्यादाविपरीत होटलमा बसेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि उनलाई पदबाट हटाइएको हो।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। एमालेको कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले सोही दलका नेतालाई समर्थन गर्दै संविधानको मर्मविपरीत कदम उठाएको आरोप लागेको छ। उनले प्रदेश प्रमुखको कार्यालयमा नभई बर्दिवासस्थित होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गराएकी थिइन्, जसलाई धेरैले पदको गरिमा उल्लङ्घनको रूपमा व्याख्या गरेका छन्।
भण्डारीको निर्णयपछि सोमबार दिनभर मधेश प्रदेशमा राजनीतिक तनाव उत्पन्न भएको थियो। अधिवक्ता तथा मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले भण्डारीको कदमलाई असंवैधानिक भन्दै भने, “सर्वोच्च अदालतले पटक–पटक स्पष्ट गरेको छ कि सरकार गठनका अन्य विकल्प खुला हुँदा अर्को प्रक्रिया अघि बढाउन मिल्दैन।” यसै विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ। अदालतले अब यस सम्बन्धमा हुने कानुनी व्याख्या र निर्णयमार्फत प्रदेशको राजनीतिक परिस्थितिलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !