लोक आवाज,
जनकपुरधाम कार्तिक २४ । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिपछि असन्तुष्ट दलका प्रदेश सभा सदस्य र तिनका समर्थक कार्यकर्ताहरूले कानुनविपरीतका गतिविधि गरेका छन्।
उनीहरूले प्रहरी र सशस्त्र प्रहरीमाथि दुर्व्यवहार गर्दै हातपात गरेका, राष्ट्रिय झण्डा फ्याँकेका र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि समेत कुटपिट गरेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। विभिन्न दलका नेता र प्रदेश सांसदहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तोडफोड पनि गरेका छन्। प्रवेशद्वारमा गाडी रोक लगाउने विषयमा सांसद र प्रहरीबीच झडप भएको दृश्य भिडियोमा देखिन्छ। एक महिलाले प्रहरीको वाकीटकी खोस्ने र सशस्त्र प्रहरी अधिकृतमाथि जाइलाग्ने दृश्यसमेत बाहिर आएको छ।
दुर्व्यवहार गर्नेहरूमा प्रदेश सभा सदस्य रूपा यादव, लोसपा नेता पप्पु चौधरी लगायत रहेका छन्। कांग्रेस सांसद विरेन्द्र सिंहले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको कार्यकक्षमा रहेको झण्डा फ्याँकेको पुष्टि भएको छ। मुख्यमन्त्री कार्यालयका नायब सुब्बा पंकजकुमार यादवमाथि पूर्व सांसद परमेश्वर साह र लोकतान्त्रिक समाजवादीका नेता जितेन्द्र झाले कुटपिट गरेको बताइएको छ। कम्प्युटर जोगाउन खोज्दा उनीहरूबाट हातपात र उपकरण तोडफोड गरिएको हो। कार्यालयका सूचना अधिकारी वाशुदेव मल्लका अनुसार नासु यादव र सहयोगी शिवलाल महतरामाथि समेत हातपात भएको छ। तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको उनले बताए।
यस घटनाविरुद्ध मुख्यमन्त्री कार्यालयका ११८ जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै संलग्न व्यक्तिमाथि तत्काल छानबिन र कानूनी कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी गणेशबहादुर बलले सुरक्षाकर्मीमाथि सांसद र उनका कार्यकर्ताद्वारा दुर्व्यवहार भएको पुष्टि गर्दै भने, “माननीयहरूले नै तोडफोड र हातपात गर्लान् भन्ने विश्वास थिएन, तर त्यही भयो।”




प्रतिक्रिया !