दैलेखमा भेटिएको प्राकृतिक ग्यासले ल्याउनेछ ऊर्जा क्षेत्रमा क्रान्ति, रासायनिक मल कारखाना खोल्न सुझाव

दैलेखमा भेटिएको प्राकृतिक ग्यासले ल्याउनेछ ऊर्जा क्षेत्रमा क्रान्ति, रासायनिक मल कारखाना खोल्न सुझाव

लोक आवाज ,

काठमाडौँ,  २३ कार्तिक । दैलेखमा भेटिएको प्राकृतिक ग्यास मुलुकको ऊर्जा र आर्थिक क्षेत्रका लागि ऐतिहासिक अवसरका रूपमा देखिएको छ। नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित अध्ययन समितिले दैलेखमा फेला परेको ग्यासबाट युरिया (रासायनिक मल), बिजुली, खाना पकाउने ग्यास र सवारी साधनमा प्रयोग हुने इन्धन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ।

समितिमा खानी विभागका प्रमुख धर्मराज खड्का, पेट्रोलियम अन्वेषण परियोजनाका सीडीकेई मनिष कर्ण सदस्य र केमिकल इन्जिनियर दीप्ति पौडेल सदस्य सचिव रहेका थिए। समितिले आफ्नो विस्तृत प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरेको छ।

समितिका संयोजक उपाध्यायका अनुसार दैलेखमा भेटिएको ग्यास मुलुकको ऊर्जा स्वावलम्बनको दिशामा ठूलो उपलब्धि हुन सक्छ। उनले भने, “यो ग्यासबाट रासायनिक मल कारखाना सञ्चालन गर्न, बिजुली उत्पादन गर्न, खाना पकाउने ग्यास र पेट्रोल–डिजेलको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना छ।”

चिनियाँ कम्पनीको प्रारम्भिक अध्ययन अनुसार दैलेख क्षेत्रमा करिब १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यासको सम्भावना रहेको छ। उपाध्यायका अनुसार, उक्त मात्रा नेपालका लागि करिब ५० वर्षसम्म पर्याप्त हुनसक्ने अनुमान गरिएको छ। उनले थपे, “ग्यासको समुचित उपयोग गर्न सकेमा वार्षिक खर्बौं रुपैयाँ बराबरको इन्धन आयात प्रतिस्थापन गर्न सकिन्छ, जसले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनेछ।”

प्रतिवेदनमा ग्यासको प्रभावकारी उपयोगका लागि विस्तृत प्राविधिक तथा वातावरणीय अध्ययन, इन्जिनियरिङ सर्वे र डिजाइन कार्य अघि बढाउन सुझाव दिइएको छ।

त्यस्तै, समितिले दैलेखमा फेला परेको ग्यास प्रयोग गरी रासायनिक मल (युरिया) उत्पादन गर्ने उद्योग स्थापना गर्न आर्थिक र प्राविधिक हिसाबले अत्यन्त उपयुक्त हुने निष्कर्ष निकालेको छ। नेपालमा हाल वार्षिक ७ लाख मेट्रिक टन युरिया मलको माग रहेकाले सो माग पूरा गर्न दैनिक कम्तीमा २,२०० मेट्रिक टन उत्पादन क्षमताको कारखाना स्थापना गर्न सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।

ग्यासको व्यावसायिक उपयोगले नेपाललाई ऊर्जा स्वावलम्बी मात्र होइन, कृषि उत्पादनमा समेत आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार