ओलीको आरोप : “देश जलाउने पनि तिनै, अहिले चलाउने पनि तिनै”

ओलीको आरोप : “देश जलाउने पनि तिनै, अहिले चलाउने पनि तिनै”

लोक आवाज ,

काठमाडौँ, २३ कार्तिक ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा देशमा तोडफोड, आगजनी र अराजकता फैलाउनेहरू नै अहिले सत्तामा पुगेको आरोप लगाएका छन्। उनले मुलुक गम्भीर राजनीतिक संकटमा परेको भन्दै युवाहरूलाई संविधान र लोकतन्त्रको रक्षाका लागि अघि बढ्न आह्वान गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “देश जलाउने पनि तिनै, चलाउने पनि तिनै। एउटा तमासा देखिएको छ — जसले जलाउने, त्यसले चलाउने।” उनका अनुसार आन्दोलनका नाममा अराजक गतिविधि सञ्चालन गर्नेहरू अहिले राज्यसत्ता सञ्चालनमा सक्रिय देखिनु लोकतन्त्रको अपमान हो।

ओलीले जेन–जी आन्दोलनका क्रममा सडकमा उफ्रिने र तोडफोडमा सहभागी हुनेहरूकै हातमा अहिले सरकार रहेको दाबी गर्दै भने, “जलाउनुका पछाडि पनि यिनै थिए। मैदानमा देखिएका थिए। एक–एक फिट माथि उफ्रिएकै थिए। अहिले फेरि कुर्सीमा विराजमान भएका छन्। संविधानले नस्वीकृत गर्ने कामलाई स्वीकृति दिइएको छ, जुन दुर्भाग्यपूर्ण हो।”

उनले देश असाधारण संकटमा रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्व र सुशासनका लागि युवाको भूमिका निर्णायक हुने बताए। ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै एमालेले नयाँ आन्दोलनको तयारी गरेको जानकारी समेत दिए। उनका अनुसार, हालको सरकार संविधानविपरीत बनेको र जनमतको अपमान गर्दै शासन सञ्चालन गरिरहेको छ।

अध्यक्ष ओलीले युवा संघलाई आन्दोलनको अग्रपंक्तिमा रहन आह्वान गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले भने, “हाम्रो आन्दोलन सत्ताका लागि होइन, देशको संविधान, लोकतन्त्र र स्थायित्वका लागि हो। युवाहरूले इतिहास बनाउने जिम्मेवारी बिर्सनु हुँदैन।”

एमाले नेतृत्वले आगामी दिनमा चरणबद्ध विरोध कार्यक्रम घोषणा गर्ने तयारी गरेको र त्यसमा राष्ट्रिय युवा संघको सक्रिय सहभागिता सुनिश्चित गरिने जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार