लोक आवाज ,
काठमाडौँ, २३ कार्तिक । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीको सिकार बनेको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर आइतबार भत्काउने क्रममा दुर्घटना भएको छ। भवनको पछाडिको भाग अचानक ढलेपछि तीन जना कामदार च्यापिएर घाइते भएका छन्।
घाइते हुनेमा मकवानपुर हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन रहेका छन्। उनीहरूलाई स्थानीयबासी र प्रहरीको सहायतामा उद्धार गरी तत्कालै त्रिवि शिक्षण अस्पताल (टिचिङ) पु-याइएको प्रहरीले जनाएको छ। तीनै जना कामदारको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये दुई जनाको अवस्था मध्यम रहेको र एक जनाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार भवन भत्काउने क्रममा सुरक्षात्मक सावधानी पर्याप्त नअपनाइएका कारण यो दुर्घटना भएको हो। सो समयमा करिब १७ जना कामदारहरू भाटभटेनीको अवशेष भत्काउने कार्यमा संलग्न थिए। अचानक पछाडिको भाग ढल्दा केही कामदारहरू भित्री भागमा अड्किएका थिए, जसका कारण उद्धारमा केही कठिनाइ भएको थियो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापा स्वयं टोलीसहित घटनास्थल पुगेका थिए। उनले उद्धार कार्य निर्देशन गर्दै भत्काउने क्रममा अझ उच्च सुरक्षा मापदण्ड अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। “सडक क्षेत्र नछेकी र कामदारको सुरक्षालाई प्राथमिकता दिँदै भत्काउने कार्य गर्नुपर्छ,” एसएसपी थापाले भने।

नक्सालस्थित यो भाटभटेनी स्टोर गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ठूलो क्षतिग्रस्त भएको थियो। त्यसपछि संरचना असुरक्षित भएकाले हाल भत्काउने कार्य अघि बढाइएको हो। तर भत्काउने क्रममा सडक नजिकैको भागमा भारी मेसिन प्रयोग गरिँदा आवागमन जोखिमपूर्ण बनेको स्थानीयवासीले गुनासो गरेका छन्।
स्थानीय प्रशासनले यस क्षेत्रमा आवतजावत असुरक्षित रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। साथै, भत्काउने कम्पनीलाई सुरक्षाका सबै मापदण्ड पालना गर्न र पुनः यस्ता घटना नदोहरिने व्यवस्था गर्न निर्देशन दिएको छ।





प्रतिक्रिया !