धनुषा च्याप्टरको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट चित्रसेन प्रसाद साह निर्वाचित

धनुषा च्याप्टरको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट चित्रसेन प्रसाद साह निर्वाचित

सुनिल साह ,

जनकपुरधाम,  २३ कार्तिक  । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (ACAN) धनुषा च्याप्टरको हालै सम्पन्न निर्वाचनमा चार्टर्ड एकाउन्टेन्ट चित्रसेन प्रसाद साह अत्याधिक मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका छन्। साहले आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्दै च्याप्टरलाई अझ सशक्त, पारदर्शी र सदस्यमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

साह लामो समयदेखि लेखा व्यवसाय, वित्तीय पारदर्शिता, कर परामर्श र शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी पेशाकर्मी हुन्। उनले निर्वाचित भएपछि आफ्नो मन्तव्यमा भने, “धनुषा च्याप्टरलाई अझ सशक्त, सक्रिय र सदस्यहरूको हितमा काम गर्ने संस्था बनाउने मेरो प्रमुख लक्ष्य हुनेछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै हाम्रो पेशाको प्रतिष्ठा र योगदानलाई अझ उचो बनाउनेछौं।”

उनले सबै सदस्यहरूको सहयोग र सद्भाव बिना यी लक्ष्यहरू पूरा गर्न कठिन हुने बताउँदै एकताबद्ध भएर काम गर्न आह्वान गरे। साहको नेतृत्वमा नयाँ कार्यसमितिले आगामी दिनमा वित्तीय पारदर्शिता प्रवर्द्धन, कर शिक्षा विस्तार, उद्योग–व्यवसाय परामर्श सुदृढीकरण र युवा चार्टर्ड एकाउन्टेन्टहरूको व्यावसायिक विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (ACAN) देशभरका लेखा व्यवसायीहरूको साझा संस्था हो, जसले पेशागत दक्षता, नीति निर्माणमा सल्लाह, र वित्तीय शासनमा पारदर्शिता अभिवृद्धिका लागि काम गर्दै आएको छ। धनुषा च्याप्टरले स्थानीय तहमा यस संस्थाको उपस्थिति सुदृढ गर्दै प्रदेशस्तरीय आर्थिक प्रशासनिक सुधारमा योगदान दिँदै आएको छ।

साहको विजयले धनुषा च्याप्टरमा नयाँ ऊर्जा र गतिशीलता ल्याउने विश्वास गरिएको छ। पेशाको सम्मान र पारदर्शिताका पक्षमा उनको दृष्टिकोणले आगामी कार्यकालमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार