मुख्यमन्त्री जितेन्द्र सोनल आज विश्वासको मत लिन तयारीमा

मुख्यमन्त्री जितेन्द्र सोनल आज विश्वासको मत लिन तयारीमा

सुनिल साह ,

जनकपुरधाम , २२ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि गत असोज २९ गते सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। उनको नियुक्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत पाँच दलको समर्थनमा भएको थियो।

सरकार गठनको समयमा पाँच दलको समर्थनमा बनेको सोनल नेतृत्वको सरकारलाई हाल थप दुई दल—नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी—ले पनि समर्थन जनाएका छन्। यी दुई दलको समर्थनपछि सोनल सरकारलाई प्रदेशसभामा कुल ५७ सदस्यको समर्थन रहेको देखिन्छ।

मधेस प्रदेशसभामा हाल १०४ जना सदस्य रहेका छन्। विश्वासको मत पाउन मुख्यमन्त्री सोनललाई प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मतको समर्थन आवश्यक हुनेछ। अहिलेको संख्या अनुसार सोनलले सहजै बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ।

सोनल नेतृत्वको सरकारमा हाल जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी) का ७ जना, र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य सहभागी छन्।

यता प्रदेशसभाका दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा एमाले—ले भने विपक्षी भूमिकामा रहेका छन्। यी दलहरूले सरकारको नीति तथा कार्यशैलीप्रति असन्तोष जनाउँदै विश्वासको मतका क्रममा विपक्षमै रहने जनाएका छन्।

जनमत पार्टीका प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह भने जनमत पार्टीबाट अलग्गिएर जनस्वराज पार्टीतर्फ लागिसकेका छन्। उनीहरू दुवै अहिले कुनै पक्षमा खुलेका छैनन्। त्यस्तै, जसपा नेपालका एक प्रदेशसभा सदस्य सरोज सिंह कुशवहा निलम्बित अवस्थामै रहेकाले उनी विश्वासको मतमा सहभागी हुने छैनन्।

मधेस प्रदेशमा पछिल्ला राजनीतिक उलटफेरका बीच सोनलको विश्वासको मत देशभरको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। विश्लेषकहरूको भनाइमा, उनले आजको मतदानमा बहुमत पाउने सम्भावना प्रबल छ, जसले मधेस प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार