अमेरिकामा सरकार बन्दका कारण उड्डयन क्षेत्र संकटमा, सयौं उडान रद्द

अमेरिकामा सरकार बन्दका कारण उड्डयन क्षेत्र संकटमा, सयौं उडान रद्द

लोक आवाज ,

एजेन्सी , २२ कार्तिक — अमेरिकामा लामो समयदेखि संघीय सरकारको बजेट पारित नहुँदा विभिन्न क्षेत्रमा गम्भीर असर पर्न थालेको छ। त्यसको सबैभन्दा ठूलो प्रभाव हाल उड्डयन क्षेत्रमा देखिएको छ।

बजेट पारित नहुँदा तलबबिनै काम गर्न बाध्य कर्मचारीहरू बिदामा जान थालेका वा वैकल्पिक रोजगारीतर्फ आकर्षित हुन थालेपछि संघीय उड्डयन प्रशासन (एफएए) ले सयौं उडान कटौती गर्न बाध्य भएको हो।

बीबीसीका अनुसार शुक्रबार मात्रै देशका प्रमुख विमानस्थलहरूमा ५,००० भन्दा बढी उडानहरू रद्द भएका छन्। यो अराजकताको मुख्य कारण हवाई यातायात नियन्त्रक (एयर ट्राफिक कन्ट्रोलर) हरूको तीव्र अभाव हो। सरकार बन्दका कारण तलबबिना काम गर्न बाध्य यी कर्मचारीहरू मानसिक र आर्थिक दबाबका कारण अनुपस्थित हुन थालेका छन्।

कर्मचारी अभाव कम गर्न तथा यात्रु सुरक्षा सुनिश्चित गर्न एफएएले नयाँ निर्देशन जारी गरेको छ, जसअनुसार देशका ४० ठूला विमानस्थलमा उडान संख्या तत्काल ४% ले घटाइएको छ। यदि सरकारी बन्द यस्तै रह्यो भने आगामी हप्तासम्म यो कटौती १०% पुग्ने एफएएले जनाएको छ।

यो कदमले न्युयोर्क, लस एन्जलस, शिकागो र वाशिङ्टन डीसीजस्ता देशका सबैभन्दा व्यस्त विमानस्थलहरूमा प्रत्यक्ष असर पारेको छ। एफएएका अनुसार हवाई यातायात नियन्त्रकहरू पहिलेबाटै जनशक्ति अभाव र अत्यधिक कार्यभारको समस्या झेलिरहेका थिए, जसलाई सरकार बन्दले थप जटिल बनाएको हो।

एक महिनाभन्दा बढी समयदेखि तलब नपाएका धेरै नियन्त्रकहरू आर्थिक र मानसिक तनावका कारण ‘बिरामी’ भन्दै अनुपस्थित हुन थालेका छन्। कतिपयले परिवारको खर्च धान्नका लागि ‘पार्टटाइम काम’ लिन थालेका छन्, जसले उनीहरूको मुख्य जिम्मेवारीमा असर पारेको छ।

यातायात सचिव सीन डफीका अनुसार हालको उडान कटौतीले अन्तर्राष्ट्रिय यात्रामा तत्काल प्रभाव नपारेको भए पनि, स्थिति दीर्घकालीन बनेमा उडान कटौती २०% सम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

सरकार बन्दको असर हवाई यातायातमै सीमित छैन। देशभरका लाखौं नागरिकलाई दिइने खाद्य सहायता कार्यक्रमहरूको बजेट समेत रोकिँदा थप मानवीय संकट सिर्जना हुने चिन्ता बढेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार