लोक आवाज ,
काठमाडौँ , १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी यही कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने *‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’*मा सहभागी हुनेछन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपतिलाई बिदाइ गरे। सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख र नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधि उपस्थित थिए।
राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।
कार्यसूचीअनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। सम्मेलनका क्रममा उनले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो सम्मेलन ३० वर्षपछि आयोजना हुँदैछ। यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटक कतारले दोस्रो सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा विश्वका मुलुकहरूले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्याको असन्तुलन, प्रविधिको प्रभावलगायत विषयमा गहन छलफल हुनेछ। यसले सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धता जाहेर गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति पौडेलसँग धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका छन्। राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।




प्रतिक्रिया !