लोक आवाज ,
एजेन्सी , १७ कार्तिक ।अफगानिस्तानको प्रमुख सहरहरूमध्ये एक मजार–ए–शरीफ नजिकै सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड र केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिमतर्फ रहेको थियो। यसको गहिराइ २८ किलोमिटर मापन गरिएको छ।
स्थानीय समयअनुसार राति करिब १ बजे महसुस गरिएको यो भूकम्पबाट ठूलो संख्यामा क्षति हुन सक्ने चेतावनी दिइएको छ। तर, हालसम्म कुनै मृत्यु वा गम्भीर हताहतको खबर प्राप्त भएको छैन।
बाल्ख प्रान्तका तालिबान प्रवक्ताका अनुसार प्रान्तका विभिन्न जिल्लाबाट सामान्य चोटपटक र सतही क्षतिका रिपोर्टहरू मात्र आएका छन्। उनका अनुसार, “धेरैजसो मानिसहरूलाई अग्ला भवनबाट खसेका कारण चोट लागेको हो,” तर कुनै गम्भीर समस्या देखिएको छैन।
पाँच लाखभन्दा बढी जनसंख्या रहेको मजार–ए–शरीफका धेरै बासिन्दा भूकम्पपछि घर भत्किने डरले सडकमा निस्किएका छन्।
यो भूकम्प गत अगस्टको अन्त्यतिर अफगानिस्तानको पहाडी पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो, जसमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।
स्रोत बिबिसी .




प्रतिक्रिया !