पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रभाव : देशका धेरै भागमा बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रभाव : देशका धेरै भागमा बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

लोक आवाज ,

काठमाडौँ , १५ कार्तिक । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा विकसित भएको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको कारण देशका अधिकांश भागमा मौसम बदली हुने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा पनि छिटपुट वर्षा हुने अनुमान गरिएको छ।

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा मध्यम हिमपात हुन सक्ने र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहन सक्ने अनुमान गरिएको छ। राति ती प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।

मौसमविद्हरूले यात्रु तथा हिमाली क्षेत्रतर्फ गइरहेका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। हिमपातका कारण तापक्रम घट्ने, यातायात अवरुद्ध हुने तथा दैनिक जनजीवनमा असर पर्न सक्ने चेतावनी समेत दिइएको छ।     

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार