वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ– ‘ओलीले आयोगमा बयान दिनु र नैतिक जिम्मेवारी लिनु पर्छ’

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ– ‘ओलीले आयोगमा बयान दिनु र नैतिक जिम्मेवारी लिनु पर्छ’

लोक आवाज , 

काठमाडौँ , १४ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेका घटनामा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगसमक्ष तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनु पर्ने बताएका छन्।

ओलीले उक्त आयोगको वैधानिकता र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयानका लागि नजाने अडान सार्वजनिक गरेपछि पार्टीभित्रै फरक मत देखिएको हो। वरिष्ठ उपाध्यक्ष पोखरेल भने ओलीको त्यो मान्यताविपरीत उभिँदै आयोगमा उपस्थित भएर आफ्ना पक्ष राख्नुपर्ने धारणा अघि सारेका हुन्।

विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सो घटनाका समयमा जिम्मेवार पदमा रहेका तल्लो तहका प्रहरी अधिकारीदेखि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ।

इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा पोखरेललाई आयोगले पत्र पठाएपछि ओली जान्छन् कि भन्ने प्रश्न सोधिएको थियो। जवाफमा उनले भने, “मलाई लाग्छ, बयानका लागि जानुपर्छ। गएर आफ्ना कुरा स्पष्ट राख्नुपर्छ।”

पोखरेलले ओलीले भदौ २३ र २४ का घटनाप्रति नैतिक जिम्मेवारी लिनुपर्ने पनि बताएका छन्। उनले भने, “यत्रो घटना घटेपछि राज्यका जिम्मेवारहरूबाट नैतिक प्रश्न उठ्छ। नैतिक जिम्मेवारी त लिनैपर्छ।”

भदौ २३ गतेका आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शन हिंसात्मक बनेपछि १९ जना युवाको मृत्यु भएको थियो, जसमा १७ जना मात्रै बानेश्वर चोकमा मारिएका थिए। त्यस्तै आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संरचना तथा नेताहरूका निजी निवासमा आगजनी र तोडफोड भएको थियो।

राज्यका महत्वपूर्ण अभिलेख नष्ट हुनुका साथै अर्बौं मूल्यको सम्पत्ति नष्ट भए पनि ओलीले सरकार प्रमुखका हैसियतले त्यसबारे जिम्मेवारी लिन अस्वीकार गर्दै आएका छन्। कात्तिक २ गते उनले सम्पादकहरूसँगको भेटमा भनेका थिए, “केपी ओली सोझो छ भन्दैमा जहाँ जहाँ आयोग बनाइन्छ, त्यहाँ गएर बयान दिने काम गर्दैन।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने कार्की नेतृत्वको आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन्। उनले भने, “आयोगमा बस्नुअघि नै कार्कीले पूर्वाग्रहपूर्ण धारणा राखेका थिए, त्यसैले निष्पक्ष परिणाम आउने आशा कम छ।”

तर पोखरेलले यसैका बीचमा पनि ओलीले राजनीतिक र नैतिक जिम्मेवारी स्वीकार्दै पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु स्वभाविक हुने धारणा राखे। उनका अनुसार, “प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलिकोप्टरमार्फत ज्यान जोगाएका ओलीले अहिले पनि अध्यक्ष पदबाट पदत्याग गरेर नैतिक उदाहरण प्रस्तुत गर्नुपर्छ।”

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार