मेयर मनोज साहद्वारा ॐ आर.सी.एस. विद्यालय चोरी घटनास्थलको निरीक्षण, दोषीमाथि कडा कारबाहीको माग

मेयर मनोज साहद्वारा ॐ आर.सी.एस. विद्यालय चोरी घटनास्थलको निरीक्षण, दोषीमाथि कडा कारबाहीको माग

सुनिल साह ,

जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले ॐ आर.सी.एस. विद्यालयमा हालै घटेको चोरी घटनाको जानकारी लिन शुक्रबार विद्यालय परिसरमा स्थलगत निरीक्षण गरेका छन्।

विद्यालय प्रशासनसँगको छलफलमा मेयर साहले शिक्षालयजस्तो पवित्र स्थानमा आपराधिक गतिविधि हुनु गम्भीर विषय भएको बताउँदै यस्तो घटनाले शिक्षण वातावरणमा भय र असुरक्षा सिर्जना गर्ने बताएका छन्। उनले छानबिनमा ढिलाइ नगरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरे।

जनकपुरधाम–१ स्थित उक्त विद्यालयमा कार्तिक १२ गते राति अज्ञात समूहले कार्यालयको सटर तोडेर नगद रकम र महत्वपूर्ण कागजात चोरी गरेको थियो। घटनापछि विद्यालय समुदाय र अभिभावकबीच आक्रोश देखिएको छ।

निरीक्षणका क्रममा मेयर साहले विद्यालयका शिक्षक–शिक्षिका तथा व्यवस्थापनसँग भेटघाट गर्दै भने, “विद्यालय पवित्र शिक्षालय हो, प्रशासनले यसलाई गम्भीरताका साथ छानबिन गर्नुपर्छ।” उनले उपमहानगरपालिकाको तर्फबाट विद्यालयहरूमा सुरक्षा सुदृढीकरणका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए।

यसैबीच, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) धनुषा जिल्ला कार्यसमितिले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ। एनप्याब्सनका सचिव डी.के. चौधरीले जारी गरेको विज्ञप्तिमा चोरी घटनालाई “दुःखद र निन्दनीय” भन्दै यसले शिक्षण समुदायको मनोबल कमजोर बनाएको उल्लेख गरिएको छ।

चौधरीले भने, “शिक्षक–शिक्षिकाले समर्पणका साथ शिक्षण कार्य गरिरहँदा विद्यालयभित्र यस्ता आपराधिक गतिविधि हुनु समाजकै लागि कलङ्क हो। दोषीलाई कानूनी कारबाही गर्न सके मात्रै शिक्षक र विद्यार्थीमा विश्वास पुनःस्थापना हुन्छ।”

एनप्याब्सन धनुषाले विद्यालयहरूको सुरक्षामा कडाइ गर्न, रात्रीकालीन गस्ती बढाउन र निगरानी प्रणाली सशक्त बनाउन स्थानीय प्रशासन र प्रहरीलाई आग्रह गरेको छ।

मेयर साहले जनकपुरधाम उपमहानगरभित्रका सबै विद्यालयहरूको सुरक्षा अवस्था पुनरावलोकन गर्न उपमहानगरले सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने जानकारी दिएका छन्। उनले भने, “शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको अपराध सह्य हुनेछैन। दोषी जो भए पनि कारबाही हुनेछ।”

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र दोषी पहिचानका लागि आवश्यक प्रमाण संकलन भइरहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार