रास्वपाद्वारा ‘बृहत् राजनीतिक संवाद’ आयोजना, रूपान्तरण र सहकार्यबारे छलफल हुने

Default Image

लोक आवाज , 

काठमाडौँ , १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको दीर्घकालीन रूपान्तरण, सुधार र समान सोच भएका व्यक्ति तथा समूहबीच सहकार्यको सम्भावनाबारे छलफल गर्न ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने भएको छ।

पार्टीका उपसभापति तथा उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको निमन्त्रणापत्रअनुसार, उक्त संवाद २०८२ कार्तिक १४ गते शुक्रबार दिउँसो १ बजे काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा हुनेछ।

वाग्लेले जारी गरेको विज्ञप्तिमा हालै ‘जेन-जी’ पुस्ताको शान्तिपूर्ण आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मुलुकमा प्राप्त उपलब्धिहरूको संरक्षण र दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका दल, व्यक्ति, समूह तथा एलायन्सबीच साझा गृहकार्यको रुपमा यो संवाद आयोजना गरिएको उल्लेख छ।

रास्वपाका अनुसार संवादका तीन प्रमुख उद्देश्य छन् — पहिलो, आन्दोलनको उत्पत्ति र नतिजाबारे साझा बुझाइ स्थापित गर्ने। दोस्रो, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने। तेस्रो, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसरका रूपमा उपयोग गर्ने सम्भाव्यता अध्ययन गर्ने।

रास्वपाले नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक र अभियन्ताहरूबीच सार्थक सहकार्यबाट देशमा रूपान्तरणको ढोका खुल्ने विश्वास व्यक्त गर्दै सबैलाई खुला छलफलमा सहभागी हुन आह्वान गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार