लोक आवाज ,
काठमाडौँ ,१३ कार्तिक । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक चक्रवात नेपाल प्रवेश गरेसँगै देशभर वर्षा सुरु भएको छ। यसैबीच, विपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (बिहीबार) साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो। लगातारको वर्षाका कारण सडक चिप्लो र पहिरोको उच्च जोखिम देखिएपछि सुरक्षा सावधानीका रूपमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
‘मोन्था’ चक्रवातको प्रभावले हाल देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको प्रक्षेपणअनुसार भोलिसम्म बागमती प्रदेशका केही ठाउँमा समेत भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि विपी राजमार्गअन्तर्गत खुर्कोट बजार हुँदै काठमाडौँतर्फ आउने सवारीसाधन सञ्चालनमा आज साँझ ५ बजेदेखि भोलि बिहानसम्म रोक लगाएको छ। लगातारको वर्षाले सडकमा ढुंगा खस्ने, पहिरो जाने र दुर्घटनाको सम्भावना बढेकाले यस्तो निर्णय लिइएको हो।
तर, अत्यावश्यक सेवा प्रवाहमा पर्ने एम्बुलेन्स, स्वास्थ्य सेवा र सुरक्षासम्बन्धी सवारीसाधन भने सञ्चालन गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले यात्रु र चालकहरूलाई अनावश्यक जोखिम नलिन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। वर्षा र पहिरोको जोखिम कम नभएसम्म रात्रीकालीन सवारी सञ्चालनबारे अर्को निर्णय हुने बताइएको छ।




प्रतिक्रिया !