सुनिल साह ,
जनकपुरधाम, कार्तिक १२ । जनकपुरधामस्थित मशाला कटेज होटलमा ‘यंग मधेशी फाइटर’ नामक समाजसेवी संस्थाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मधेशका युवाहरूलाई सामाजिक सेवामा संगठित गर्ने उद्देश्यका साथ गठन गरिएको यस संस्थाको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी युवाहरू तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थापक आयुष अरगरियाले संस्थाको उद्देश्य र आगामी योजनाहरू सार्वजनिक गर्दै ‘यंग मधेशी फाइटर’ ले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान पुर्याउने बताए। उनले शिक्षा, स्वास्थ्य, वातावरण तथा मधेसी पहिचानलाई देशविदेशमा चिनाउने जस्ता क्षेत्रमा संस्थाले कार्य गर्ने जानकारी दिए।
उनले हाल देशभर फैलिएको मेडिकल माफियाहरूको गतिविधिप्रति आक्रोश व्यक्त गर्दै भने, “हामीले समाजसेवी भावना र मानवीय दायित्वका आधारमा गरेको रगतदान (ब्लड डोनेसन) लाई केही संस्थाहरूले लाखौं रुपैयाँमा बेचबिखन गर्छन्। अब त्यस्तो गलत प्रणालीविरुद्ध आवाज उठाउनेछौं।” उनले थपे, “हाम्रो संस्था सधैं गरिब, विपन्न र सहयोग आवश्यक व्यक्तिहरूको हितमा काम गर्नेछ।”
उद्घाटन कार्यक्रममा आनन्द ठाकुर, प्रशान्त झा, कुश यादव, निशान्त यादव, किसन साहलगायत सयौं युवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाको स्थापना मधेशका युवाहरूको एकता र समाजसेवी चेतनाको महत्वपूर्ण कदम भएको बताए।
पत्रकारहरूको पनि सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा वक्ताहरूले मधेशका युवाहरूले अब नेतृत्वदायी भूमिकामा आउनु आवश्यक भएको धारणा व्यक्त गरे। संस्थाले आगामी दिनमा विभिन्न रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, शैक्षिक सहयोग तथा सरसफाइ अभियानहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

‘यंग मधेशी फाइटर’ का प्रतिनिधिहरूका अनुसार, यो संस्था राजनीतिक स्वार्थभन्दा टाढा रही केवल समाजसेवा र मानवतामूलक कार्यमा समर्पित रहनेछ। कार्यक्रममा उपस्थित युवाहरूले संस्थालाई सशक्त र पारदर्शी बनाउँदै मधेशमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका थिए।




प्रतिक्रिया !