‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश, कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश, कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

लोक आवाज ,

काठमाडौँ , ११ कार्तिक  । गालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुद्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ। हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर सर्दै गएको विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।

उनका अनुसार यो प्रणालीले समुद्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याउने भएकाले नेपालको विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ। यससँगै बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिन सक्ने सम्भावना रहेको उनले बताए।

चक्रवात ‘मोन्था’को प्रभाव बिहीबार (कात्तिक १३ गते) दिउँसोदेखि शनिबार (कात्तिक १५ गते) दिउँसोसम्म रहने पूर्वानुमान गरिएको छ। उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

पराजुलीका अनुसार हाल ठूला नदीहरूको बहाव सामान्य अवस्थामा रहे पनि चक्रवातका कारण नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ। उनका अनुसार विशेषगरी मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोलानालामा तीव्र बहाव हुन सक्ने सम्भावना उच्च छ। उनले कात्तिक १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरे।

त्यसैगरी जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मंगलबारदेखि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइन्। उनका अनुसार हिमपातका कारण पर्वतारोहण गतिविधि र दैनिक जनजीवनमा असर पर्नसक्छ।

पोखरेलका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश स्थानमा आंशिक बदली देखिएको छ। बुधबारदेखि यो स्थिति केही सुधार हुने भए पनि बिहीबारबाट पुनः सक्रिय हुने चक्रवात ‘मोन्था’का कारण मौसम फेरि अस्थिर बन्ने उनको भनाइ छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार