सुनिल साह ,
जनकपुरधाम, ८ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–१ का पूर्व वडाध्यक्ष शत्रुधन साहले छठ पर्वको अवसरमा वडाभित्रका दलित तथा विपन्न समुदायकी व्रतालु महिलाहरूलाई सारी वितरण गरेका छन्। साहले शनिबार आयोजित कार्यक्रममा २ सय २५ जना महिलाहरूलाई नयाँ सारी प्रदान गरेका हुन्।
पूर्व वडाध्यक्ष साहले हरेक वर्ष छठ पर्वलाई लक्षित गर्दै आर्थिक रूपमा कमजोर महिलाहरूलाई नयाँ लुगा वितरण गर्ने परम्परा निरन्तरता दिँदै आएका छन्। यस वर्ष पनि उनले वडास्तरमा तथ्यांक संकलन गरेर साँच्चै आवश्यकता भएकाहरूलाई प्राथमिकता दिँदै वितरण गरिएको जानकारी दिए।
कार्यक्रममा बोल्दै साहले भने, “छठ पर्वमा नयाँ लुगा लगाएर पूजाआर्चना गर्ने परम्परा छ, तर विपन्न परिवारसँग त्यो सम्भव हुँदैन। त्यसैले हामीले उनीहरूको धार्मिक आस्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम गर्दै आएका हौँ।”
कोभिड–१९ को कठिन समयमा विपन्न नागरिकहरूलाई निःशुल्क भोजन वितरण गरेर चर्चामा आएका साह सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत धार्मिक र सांस्कृतिक पर्वहरूमा सहयोगका कार्यक्रमले समुदायमा आपसी सद्भाव र एकता बलियो बनाउँछ।
सारी वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख लालकिशोर साह, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारी, लोसपा नेता चन्द्रनारायण मण्डल, युवा नेता प्रशान्त झा, अधिवक्ता कृष्ण झा लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले पूर्व वडाध्यक्ष साहको निरन्तर सामाजिक सेवाको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
साहले आगामी वर्षहरूमा पनि वडाभित्रका विपन्न तथा व्रतालु महिलाहरूलाई सहयोगका कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।




प्रतिक्रिया !