सुनिल साह ,
जनकपुरधाम ,८ कार्तिक । श्रद्धा, निष्ठा र आस्थाको प्रतीक छठ पर्व शनिबारदेखि तराई–मधेशमा विधिवत् रूपमा सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो चारदिने पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिसँगै पर्वको औपचारिक प्रारम्भ भएको हो।
‘नहाय–खाय’ विधिअनुसार आज बिहानदेखि व्रतालु महिलाहरूले नुहाएर चोखो भएर शुद्ध भोजन ग्रहण गरी ब्रत सुरु गरेका छन्। छठ पर्वमा शुद्धता, नियम र संयम अत्यावश्यक मानिने भएकाले आजदेखि व्रतालुहरूले माछा, मासु, लसुन, प्याज लगायत ब्रतमा निषेधित सामग्रीहरूको सेवन नगर्ने परम्परा रही आएको छ। जनकपुर उप–महानगरपालिका–१६ की ब्रतालु पार्वती साहका अनुसार छठ केवल पूजा मात्र होइन, जीवनलाई अनुशासन र संयममा बाँध्ने अवसर पनि हो।
छठ पर्वको दोस्रो दिन आइतबार ‘खरना’ विधि मनाइने छ। यस दिन ब्रतालुले दिनभर निराहार बसेर बेलुका सूर्य अस्ताएपछि सख्खर मिसाइएको खीर, रोटी तथा फलफूलको प्रसाद ग्रहण गर्छन्। यही दिनदेखि पूर्ण रूपमा निर्जल व्रत सुरु हुन्छ।
तराई–मधेशमा साझा सांस्कृतिक पहिचानका रूपमा स्थापित छठ पर्वको तयारी अहिले जनकपुरधामसहित सम्पूर्ण प्रदेशमा उत्साहका साथ भइरहेको छ। पोखरी, इनार, तलाउ र नदीघाटहरूमा सरसफाइ, रंगरोगन र सजावटको काम तीव्र रूपमा भइरहेको छ। बजारमा केरादेखि उखुसम्मका छठ सामग्री किनमेल गर्ने भीड देखिन्छ।
पूर्व प्राज्ञ रामभरोष कापडी भ्रमरका अनुसार छठ पर्वले मानवलाई अहिंसाप्रति प्रेरित गर्छ र सबै जीवप्रति सहानुभूति राख्ने सन्देश दिन्छ। उनले भने, “छठ सूर्य देवको उपासना मात्र होइन, प्रकृति, जल र जीवप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो।”
पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका बेलुकी व्रतालुहरूले कम्मरसम्म डुबेर जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। यसलाई ‘सझुका अर्घ’ भनिन्छ।
त्यसपछि ब्रतालुहरू सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएपछि चारदिने छठ पर्व सम्पन्न हुन्छ। यस अन्तिम विधिलाई ‘भोरका अर्घ’ भनिन्छ। छठ पर्वले समुदायमा एकता, सहकार्य र धार्मिक सौहार्दको भावना फैलाउने भएकाले यसलाई तराई–मधेशको साझा संस्कृतिको उत्सवका रूपमा हेरिन्छ।
यसरी नियम, निष्ठा र आस्थाका साथ मनाइने छठ पर्वले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशलाई भक्तिभावले रङ्गिएको छ।




प्रतिक्रिया !