लोक आवाज
एजेन्सी, ६ कार्तिक । युक्रेनमा शान्ति वार्ताको लागि मस्कोलाई दबाब दिन अमेरिकाले रूसका दुई ठूला तेल कम्पनी— रोजनेफ्ट र लूकओइल—लाई निशाना बनाउँदै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो महासचिव मार्क रुटसँगको भेटपछि भने, “मैले भ्लादिमिरसँग हरेक पटक कुरा गर्दा संवाद राम्रो हुन्छ, तर ती कतै पुग्दैनन्। अब परिणाम निकाल्ने समय आएको छ।”
यी प्रतिबन्धहरू ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको भेटवार्ता अनिश्चितकालका लागि स्थगित भएको घोषणापछि आएको हुन्।
यसअघि, बुधबार युक्रेनमा रुसले गरेको तीव्र गोलाबारीमा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको थियो।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले पुटिनले “अर्थहीन युद्ध” अन्त्य गर्न अस्वीकार गरेकाले नयाँ प्रतिबन्ध आवश्यक भएको बताए। उनका अनुसार यी तेल कम्पनीहरूले क्रेमलिनको “युद्ध मेसिन” का लागि कोष जुटाइरहेका छन्।
“अहिले हत्या रोक्ने र तत्काल युद्धविराम गर्ने समय हो,” बेसन्टले वक्तव्यमा भने।
ओभल अफिसमा रुटसँग बोल्दै ट्रम्पले पुटिन शान्तिका लागि गम्भीर नभएको आरोप लगाए र प्रतिबन्धले वार्तामा सफलता ल्याउने विश्वास व्यक्त गरे। “हामीले धेरै पर्ख्यौँ, अब कदम चाल्ने समय हो,” उनले भने।
रुटले पनि यस कदमको प्रशंसा गर्दै भने, “यो पुटिनमाथि थप दबाब हो। तपाईंले दबाब दिनैपर्छ, र उहाँले आज त्यही गर्नुभयो।”
ट्रम्पले प्रतिबन्धलाई “जबरजस्त” भन्दै रूसले युद्ध रोक्न सहमति जनाएमा ती छिट्टै फिर्ता गर्न सकिने बताएका छन्।
गत हप्ता बेलायतले पनि रोजनेफ्ट र लूकओइलमाथि यस्तै प्रतिबन्ध लगाएको थियो। बेलायती चान्सलर रेचल रीभ्सले भनेकी थिइन्, “विश्व बजारमा रूसी तेलको कुनै स्थान छैन।”
तर लन्डनस्थित रूसी दूतावासले भने, प्रमुख ऊर्जा कम्पनीहरूलाई निशाना बनाउँदा विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध आउने र ऊर्जा मूल्य बढ्ने चेतावनी दिएको छ।
यी दुई कम्पनीहरूले दैनिक झन्डै ३.१ मिलियन ब्यारेल तेल निर्यात गर्छन्। बेलायतको अनुमान अनुसार, रोजनेफ्ट रूसको आधा तेल उत्पादनका लागि जिम्मेवार छ, जुन विश्व उत्पादनको करिब ६ प्रतिशत हो।
रूसका प्रमुख तेल ग्राहकहरूमा चीन, भारत र टर्की पर्छन्। ट्रम्पले यी देशहरूलाई पनि रूसी तेल खरिद रोक्न आग्रह गर्दै क्रेमलिनमाथि आर्थिक दबाब बढाउने प्रयास गरेका छन्।
बेलायती विदेश सचिव इभेट कूपरले अमेरिकी कदमको स्वागत गर्दै भनिन्, “यी प्रतिबन्धहरू दृढ र स्वागतयोग्य छन्—शान्तिको बाटो खोल्नका लागि आवश्यक कदम।”




प्रतिक्रिया !