छठपछि जसपा नेपाल मधेश सरकारमा सहभागी हुने तयारीमा : सचिव साह

छठपछि जसपा नेपाल मधेश सरकारमा सहभागी हुने तयारीमा : सचिव साह

लोक आवाज ,

जनकपुरधाम, ६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको बताएका छन्।

उनका अनुसार जसपा नेतृत्वले गठबन्धन दलहरूसँग समन्वय गरी सरकारमा प्रवेश गर्ने अन्तिम तयारी गरिरहेको छ। “छठ पर्व सकिएलगत्तै जसपा नेपाल सरकारमा सहभागी हुनेछ,” सचिव साहले भने, “गठबन्धनको साझा एजेन्डाअनुसार मन्त्रीहरू चयन गरिनेछन्।”

साहका अनुसार मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बनेको नयाँ सरकारले प्रदेशसभाबाट विश्वासको मत लिएपछि गठबन्धन दलहरूले साझा नीतिगत कार्यसूची तय गरी सरकार सञ्चालनमा जुट्नेछन्।

जसपाका प्रदेशसभा सदस्यहरू सक्षम, अनुभवी र जनउत्तरदायी रहेको दाबी गर्दै उनले भने, “हामी जनताको विश्वास जित्न चाहन्छौं। त्यसका लागि इमानदार र काम गर्नसक्ने जनप्रतिनिधिलाई मात्र सरकारमा पठाउने निर्णय गरिएको छ।”

यो निर्णय राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको परामर्शमा संसदीय दलको बैठकले गरेको उनले बताए। जसपाले अब परिणाममुखी शासन र जनताप्रति उत्तरदायी नीति अपनाउने प्रतिबद्धता जनाएको उनले स्पष्ट पारे।

सचिव साहले जसपाको मुख्य उद्देश्य मधेश प्रदेशलाई सुशासन, विकास र स्थायीतर्फ अघि बढाउने रहेको बताए। उनले थपे, “जनताको भरोसा पुनःस्थापित गर्नका लागि सरकारमा हाम्रो सहभागिता नीतिगत र परिणाममुखी हुनेछ।”

उनका अनुसार मन्त्री चयनदेखि नीति निर्माणसम्मका सबै निर्णय जनताको मनोभावना र प्रदेशको प्राथमिकताअनुसार हुनेछन्।

जसपा नेतृत्वले छठ पर्वपछि मन्त्रीहरूको नाम टुंगो लगाउँदै सरकारमा प्रवेश गर्ने तयारी गरेको छ। हाल पार्टीभित्र मन्त्रालय विभाजन र प्रतिनिधित्वको सन्तुलनबारे छलफल जारी छ। गठबन्धन दलहरूले पनि जसपाको सरकारमा सहभागितालाई सकारात्मक रूपमा स्वागत गरेको बताइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार