लोक आवाज ,
काठमाडौँ , ३१ असोज । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडका घटनाले नेपालको न्याय प्रणालीमा ऐतिहासिक स्तरको क्षति पुर्याएको छ। सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भएको आगलागीका कारण मुद्दासम्बन्धी अभिलेख, भवन, सवारीसाधन र कार्यालयका अत्यावश्यक उपकरणहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्।
सर्वोच्च अदालतले शुक्रबार दिउँसोसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार देशभरका अदालतमा करिब ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिल नष्ट भएका छन्। तीमध्ये २६ हजार ५६७ वटा विचाराधीन मुद्दाका मिसिलहरू पूर्ण रूपमा जलेका छन्। सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार यो विवरण अदालत व्यवस्थापन समितिको बैठकमा पेश गरिएपछि सरकारले गठन गरेको जाँचबुझ आयोगलाई बुझाइने तयारी भइरहेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, भदौ २३ गतेसम्म सर्वोच्चमा २४ हजार २३४ वटा मुद्दा विचाराधीन थिए। तीमध्ये २० हजार ३४ वटा मिसिल जलेर नष्ट भएका छन्। अहिले ४ हजार २०० मुद्दाका मिसिल मात्रै बाँकी रहेका छन्, जसमा रिटसम्बन्धी २,५०९ र अन्य मुद्दाका १,६९१ मिसिल छन्। जलेका मिसिलमध्ये सार्वजनिक महत्वका तथा ठूला भ्रष्टाचारसम्बन्धी मुद्दाहरू पनि रहेका छन्।
तल्ला तहका अदालतहरूमा पनि ठूलो क्षति पुगेको छ। चालु अवस्थामा रहेका ६ हजार ५३३ मुद्दाका मिसिल जलेका छन् भने सर्वोच्च बाहेक अन्य अदालतका ७ लाख ६ हजार ७१ मुद्दाका अभिलेख पूर्ण रूपमा नष्ट भएका छन्। सर्वोच्चमा मात्र १ लाख ९७ हजार अभिलेख हराएका छन्।
आगोले २३ वटा अदालत भवनमध्ये १० वटा भवन पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेका छन्। सर्वोच्चको मुख्य भवनको एनेक्स भाग बाहेक अरू सबै गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल र पाटनको हेटौँडा इजलासका भवनहरू समेत प्रयोग गर्न अयोग्य बनेका छन्। जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि नोक्सानीग्रस्त छन्। विशेषगरी काठमाडौँ जिल्ला अदालतको नयाँ भवन पनि आगलागीमा क्षतिग्रस्त भएको र अहिले प्रवेश नै जोखिमपूर्ण रहेको जानकारी सहायक प्रवक्ता पाण्डेले दिए।
सवारीसाधनहरूमा पनि ठूलो क्षति पुगेको छ। अदालतहरूमा रहेका ४२२ वटा सवारी साधन पूर्ण रूपमा जलेका छन्। तीमध्ये १२९ वटा चारपाङ्ग्रे सवारी, २३ जना उच्च अदालतका न्यायाधीश, र २५ जना जिल्ला न्यायाधीशले प्रयोग गर्ने गाडीहरू समेत नष्ट भएका छन्। सर्वोच्चमा मात्रै ४३ वटा चारपाङ्ग्रे सवारी जलेका छन्। साथै, २२३ वटा मोटरसाइकल र ७० वटा स्कुटर काम नलाग्ने अवस्थामा पुगेका छन्। सर्वोच्च परिसरमा मात्र १५२ वटा सवारीसाधन जलेर प्रयोगयोग्य नभएका छन्। यद्यपि, ३८ वटा सवारी प्राविधिक मर्मतपछि चलाउन सकिने अवस्थामा रहेको बताइएको छ।

कार्यालयका अन्य उपकरणहरू पनि ठूलो संख्यामा नष्ट भएका छन्। १,४९२ वटा कम्प्युटर, ६३५ ल्यापटप, ८५४ प्रिन्टर, ४४५ सिसी क्यामेरा, र ५०९ साना स्क्यानर जलेका छन्। साथै ८६ भिडियो कन्फरेन्स सेट, १९५ डिस्प्ले टिभी, १,१११ युपिएस, ३८ फोटोकपी मेसिन, ६ जेनेरेटर, ३३९ एसी, र ८१ इहाजिरी मेसिन जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
सर्वोच्च अदालतले यस घटनालाई “न्यायिक इतिहासकै सबैभन्दा ठूलो प्रशासनिक क्षति” भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। अदालतले सरकारसँग तत्काल वैकल्पिक व्यवस्था, अभिलेख पुनर्निर्माण र सुरक्षा प्रणाली सुदृढीकरणका लागि विशेष योजना बनाउन आग्रह गरेको छ।




प्रतिक्रिया !