टी–२० विश्वकप एसिया छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन, सामाओलाई १२४ रनले पराजित

टी–२० विश्वकप एसिया छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन, सामाओलाई १२४ रनले पराजित

लोक आवाज ,

जनकपुरधाम, ३१ असोज । ओमानमा जारी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै अपराजित रहँदै उपाधि जितेको छ। शनिबार सम्पन्न अन्तिम खेलमा नेपालले सामाओलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेटको क्षतिमा २ सय ११ रनको विशाल योगफल तयार गर्‍यो। नेपालका लागि ओपनर आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाए भने दिपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको शानदार पारी खेले।

त्यस्तै कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए भने अन्तिमतिर लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ३९ रन जोड्दै नेपालको स्कोर २ सय नाघाए। कुशल भुर्तेलले १७ रन बनाए भने आरिफ शेख ९ रनमा आउट भए। सामाओका लागि ड्यानील बुर्गेस, साउमनाइ टियाइ, दरिउस भिसेर र नोड मेडले समान १–१ विकेट लिएका थिए।

२ सय १२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सामाओ नेपाली बलरहरूको कसिलो र संयमित बलिङ अगाडि पूर्ण रूपमा दबाबमा परेको थियो। सामाओले पुरै २० ओभर खेले पनि ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो।

सामाओका लागि ओपनर सिएन सोलीया मात्र केही समयसम्म टिक्न सफल भए। उनले ३७ बलमा २ चौका र १ छक्कासहित ४० रनको योगदान दिए। सोलीया बाहेक बेनजामिन माइलाटाले ११ रन बनाए भने अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न असफल भए।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। ललित राजवंशीले ४ ओभरमा ३ विकेट लिँदै विपक्षी टिमको मध्यक्रम ध्वस्त पार्नुभयो। त्यस्तै सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले समान १–१ विकेट लिँदै जित सुनिश्चित गरे।

यसअघि नेपालले समूहचरणमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको थियो। पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा जापानमाथि ५ विकेटको सहज जित दर्ता गरेको थियो।

सुपर सिक्स चरणमा पनि नेपालले आफ्नो अपराजित यात्रा कायम राख्यो। रोमाञ्चक खेलमा युएईमाथि १ रनले नजिकको जित निकाल्दा कतारलाई ५ रनले हराएको थियो। त्यस्तै, आयोजक ओमानमाथि ३८ रनले जित निकाल्दै नेपाल फाइनल खेलअघि नै शीर्ष स्थान सुरक्षित गर्न सफल भएको थियो।

अन्तिम खेलमा सामाओविरुद्धको ऐतिहासिक जितसँगै नेपालले प्रतियोगिता अपराजित रहँदै उपाधि जितेको हो। यो जितसँगै नेपालले आगामी टी–२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थिति पुनः प्रमाणित गरेको छ।

नेपालको यो उपलब्धिले नेपाली क्रिकेटको इतिहासमा अर्को महत्वपूर्ण अध्याय जोडेको छ। नेपाली टिमको सामूहिक प्रदर्शन, ब्याटिङ–बलिङ सन्तुलन र कप्तान रोहित पौडेलको रणनीतिक नेतृत्वले नेपाललाई अपराजित रूपमा च्याम्पियन बन्न सफल बनाएको छ।

क्रिकेट विश्लेषकहरूका अनुसार नेपालको यो प्रदर्शनले विश्व क्रिकेटमा मध्यम स्तरका राष्ट्रहरूबीचको प्रतिस्पर्धामा नयाँ ऊर्जा भरेको छ। अब नेपालले विश्वकपमा आफ्नो उत्कृष्ट फर्म निरन्तरता दिँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार