मुख्यमन्त्री सोनलद्वारा सुरक्षा निकायसँग महत्वपूर्ण बैठक, शान्ति–सुरक्षा सुदृढीकरणमा जोड

मुख्यमन्त्री सोनलद्वारा सुरक्षा निकायसँग महत्वपूर्ण बैठक, शान्ति–सुरक्षा सुदृढीकरणमा जोड

लोक आवाज ,

जनकपुरधाम, असोज ३१ ।मधेश प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र प्रसाद सोनलले प्रदेशका प्रमुख सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग सुरक्षा स्थिति र सेवा प्रवाहबारे महत्वपूर्ण बैठक गर्नुभएको छ। शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजित उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, प्रदेश सरकारका प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशमा स्थायी शान्ति र सुरक्षाको वातावरण सुदृढ गर्न सुरक्षा निकायहरूबीच आपसी समन्वय र प्रभावकारी कार्य योजनाको आवश्यकता औंल्याउनुभयो। उहाँले आम नागरिकले सुरक्षाको अनुभूति गर्न सक्ने व्यवहारिक सुधारका पहल गर्न निर्देशन दिनुभयो।

त्यसैगरी, जनतासँग प्रत्यक्ष सम्बन्धित प्रशासनिक सेवाहरू छिटो, छरितो र पारदर्शी ढंगले प्रवाह गर्न सम्बन्धित निकायहरूलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो। उहाँले जनविश्वास प्राप्त गर्न राज्य संयन्त्रले जिम्मेवार र उत्तरदायी व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो।

बैठकमा मुख्यमन्त्रीसँगै माननीय आन्तरिक मामिला तथा सञ्चार मन्त्री महेश प्रसाद यादव र माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कनिश पटेलको पनि उपस्थिति थियो। बैठकले प्रदेशमा शान्ति–सुरक्षा मजबुत पार्दै सुशासन र सेवा वितरण सुधारतर्फ ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार