लोक आवाज ,
जनकपुरधाम, ३१ असोज । मधेश प्रदेशका चौथो मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले बिहीबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै जनसरोकारमुखी कार्यक्रम ‘हेल्लो सिएम’लाई निरन्तरता दिने पहिलो निर्णय गरेका छन्।
जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा सम्पन्न पदभार ग्रहण समारोहमा उनले आफ्नो पहिलो हस्ताक्षर ‘हेल्लो सिएम’ कार्यक्रम निरन्तरतामा गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री सोनलले भने, “हाम्रो सरकार जनताको भावना, अपेक्षा र आवाजप्रति उत्तरदायी रहनेछ। ‘हेल्लो सिएम’ जनताको मन सुन्ने माध्यम भएकाले यसलाई अझ सशक्त बनाइनेछ।”
‘हेल्लो सिएम’ कार्यक्रम प्रदेश सरकारको जनसरोकार केन्द्रित पहल हो, जसअन्तर्गत नागरिकले आफ्ना समस्या, गुनासो र सुझाव सीधा मुख्यमन्त्री कार्यालयमा पुर्याउन सक्छन्।
पदभार ग्रहणपछि मुख्यमन्त्री सोनल आफ्ना नवनियुक्त मन्त्रीहरूसँग जनकपुरधामको मुजेलियास्थित शहिद गेट पुगेर स्वतन्त्रता, अधिकार र लोकतन्त्रका लागि ज्यान अर्पण गरेका शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
उनले आफ्नो सरकार स्पष्ट दिशा र दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै भने, “यो सरकारमा कुनै अन्यौलता, हेलचक्राई वा लापरवाही हुँदैन। प्रत्येक निर्णय जनता र प्रदेशको हितमा हुनेछ।”
मुख्यमन्त्री सोनलका अनुसार मन्त्रालयहरूको जिम्मेवारी छिट्टै तोकिनेछ र बाँकी निर्णयहरू मन्त्रीपरिषद् बैठकबाट सार्वजनिक गरिनेछन्।
सोनलले जनताको भावना, सुशासन र विकासलाई आफ्नो सरकारका तीन मुख्य आधारका रूपमा अघि बढाउने र संघीयताको मर्मअनुसार जनमुखी, उत्तरदायी र जवाफदेही प्रदेश सरकार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया !