सुनिल साह,
लोक आवाज ,जनकपुरधाम, २७ असोज — मधेश प्रदेशका विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत युवा स्वास्थ्यकर्मीहरूले आफूहरू माथि भइरहेको असमान व्यवहार र श्रम शोषणका विरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्यकर्मीहरूले ८ बुँदे मागसहित कार्तिक १६ गतेदेखि अस्पताल खाली गरेर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले लामो समयदेखि निजी अस्पतालहरूले सरकारका निर्देशन र कानुनी प्रावधान बेवास्ता गर्दै आएको आरोप लगाए। उनका अनुसार मन्त्रालयले पटक–पटक सूचना जारी गरे पनि अधिकांश निजी स्वास्थ्य संस्थाहरूले त्यसको कार्यान्वयन गर्न मानेका छैनन्। उनले भने, “हामी कुनै राजनीतिक उद्देश्य लिएर होइन, आफ्नो पेशागत अधिकार र इज्जतको लागि सडकमा उत्रिन बाध्य भएका हौं।”
उनका अनुसार निजी अस्पतालहरूले तोकिएको तलब नदिने, कार्य समयभन्दा बढी काम गराउने, बीमा नगर्ने र सुरक्षाको व्यवस्था नपु-याउनेजस्ता समस्या निरन्तर भइरहेका छन्। उनले थपे, “स्वास्थ्यकर्मीहरू बिना नै अस्पताल चल्दैन, तर अधिकार र सुविधामा हामी सबैभन्दा पछाडि परेका छौं।”
स्वास्थ्यकर्मीहरूले अघि सारेको ८ बुँदे मागमा प्रमुख रूपमा नेपाल सरकारको ऐनअनुसार सबै निजी अस्पतालमा तलब स्केल लागू गर्नुपर्ने, सरकारी अस्पतालमा करारमा कार्यरत कर्मचारी हटाई प्रदेश लोकसेवामार्फत दरबन्दी पूर्ति गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको बीमा र सुरक्षालाई अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका मागहरू रहेका छन्।
यस्तै, उनीहरूले हप्तामा ४२ घण्टाभन्दा बढी काम गराउन नपाइने व्यवस्था लागू गर्नुपर्ने, स्वास्थ्यकर्मीको परिवारलाई निःशुल्क उपचार सुविधा दिनुपर्ने, प्रत्येक वर्ष कम्तीमा १० प्रतिशत तलब वृद्धि गर्नुपर्ने, कार्यस्थलमा लैंगिक तथा पेशागत विभेद अन्त्य गर्नुपर्ने र श्रम अधिकार सुनिश्चित गर्न निजी अस्पतालहरूलाई कानूनी रुपमा जिम्मेवार बनाउनुपर्ने माग राखेका छन्।
मधेश प्रदेशमा करिब २० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू निजी अस्पतालहरूमा कार्यरत रहेका छन्। तीमध्ये धेरैजसो स्थायी नियुक्तिबिना, न्यून पारिश्रमिकमा र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य रहेको उनीहरूको गुनासो छ।
स्वास्थ्यकर्मीहरूले माग पूरा नभए प्रदेशव्यापी आन्दोलन चरणबद्ध रूपमा विस्तार गर्ने चेतावनी दिएका छन्। अधिकारीले अन्त्यमा भने, “हामी वार्ताबाटै समस्या समाधान गर्न चाहन्छौं, तर यदि हाम्रो आवाज बेवास्ता गरियो भने अस्पताल बन्द गरेर पनि आन्दोलन गर्न पछि हट्नेछैनौं।”




प्रतिक्रिया !