जेन–जी आन्दोलनका सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

जेन–जी आन्दोलनका सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

लोक आवाज ,
काठमाडौँ ,२२ असोज । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

बुधबार जारी विज्ञप्तिमा चौधरी ग्रुपले आन्दोलनका क्रममा भएको ठूलो जनधन र सम्पत्ति क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण र सहअस्तित्वको भावना सुदृढ गर्न योगदान पुर्‍याउने अठोट जनाएको छ। आन्दोलनका क्रममा समूहका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भन्दै विज्ञप्तिमा भनिएको छ, “हामीले भोगेको भौतिक क्षति भन्दा ठूलो पीडा हामीलाई सहिद परिवारले भोगेको अपूरणीय क्षतिबाट भएको हो।”

कम्पनीले सहिदहरूको बलिदानलाई देश परिवर्तनको प्रेरणा भन्दै पुनःनिर्माण र सहअस्तित्वका लागि दृढ संकल्पसहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विज्ञप्तिमा भनेका छन्, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं, पुनःनिर्माण गर्नेछौं र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौं।”

कम्पनीले प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने निर्णयलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ। यसका लागि कम्पनीको टिमले हाल सहिद परिवारहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहेको चौधरी ग्रुपले जनाएको छ।

रोजगारी अवसर प्रदान गर्ने कार्यलाई पारदर्शी र मानवीय ढंगले अघि बढाइने बताउँदै कम्पनीले इच्छुक सहिद परिवार वा सहयोग गर्न चाहने व्यक्तिहरूलाई कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा चौधरी ग्रुपले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय एकता र सहकार्यको भावना फैलाउने प्रतिज्ञा पनि गरेको छ। कम्पनीले भनेको छ, “हामी सहिदहरूको बलिदानलाई देशको साझा सपना पूरा गर्ने यात्राको आधारशिला बनाउनेछौं।”

चौधरी ग्रुपले अघिल्ला विपद् र संकटका समयमा पनि सामाजिक उत्तरदायित्वका अभियानहरू सञ्चालन गर्दै आएको छ। यसपटकको निर्णयलाई देशभरका युवाहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार