सुनिल साह ,
जनकपुरधाम, २२ असोज । मधेश प्रदेशको राजनीतिक शक्ति सन्तुलन फेरि बदलिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको संयुक्त पहलमा बुधबार नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुखको कार्यालयमा पेस गरिएको छ। लामो समयदेखिको सत्ता समीकरणमा चलिरहेको तानातान अन्त्य गर्दै तीन दलबीच सहमति जुटेपछि प्रदेशको राजनीतिक परिदृश्य पुनः नयाँ दिशामा मोडिएको हो।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा एमालेका नेता सरोज कुमार यादव र जनमत पार्टीका नेता महेश प्रसाद यादवले संयुक्त रूपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनको औपचारिक दाबी बुझाएका छन्।
प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा तीन दलका जम्मा ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ। मधेश प्रदेशसभामा दुई जना सांसद निलम्बित भएकाले हाल १०५ सदस्य मात्रै सक्रिय छन्। संविधानको धारा १६८(२) अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने कानुनी व्यवस्था अन्तर्गत उक्त दाबी गरिएको हो।
दाबीपत्रमा भनिएको छ, “हामी मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनीतिक दलका जम्मा ५८ जना सांसदहरूको समर्थनका आधारमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गर्दछौं।”
सत्ता समीकरणमा लामो समयदेखि चलेको राजनीतिक अस्थिरता अन्त्य गर्ने र प्रदेशमा सुशासन, विकास र स्थायित्वको वातावरण सिर्जना गर्ने उद्देश्यले यो गठबन्धन गरिएको बताइएको छ।
तीन दलबीच बुधबार साँझ भएको अन्तिम छलफलपछि गठबन्धनको औपचारिक घोषणा गरिएको हो। बैठकमा एमालेका नेता सरोज कुमार यादव, कांग्रेसका नेता कृष्ण प्रसाद यादव र जनमत पार्टीका नेता महेश प्रसाद यादव सहभागी थिए। बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै तिनै नेताहरूले मधेश प्रदेशमा नयाँ राजनीतिक स्थायित्वको युग सुरु हुने विश्वास व्यक्त गरेका छन्।
संयुक्त वक्तव्यमा भनिएको छ, “प्रदेशको विकास, सुशासन र जनताप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै हामीले साझा सरकारको ढाँचा तयार पारेका छौं। दलहरूबीचको अविश्वास अन्त्य गर्दै अबको प्राथमिकता जनताका मुद्दा समाधान र प्रदेशको दीर्घकालीन विकास हो।”
यसअघि प्रदेशमा सत्ता जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रबीचको गठबन्धनमा थियो। तर पछिल्लो समय विश्वासको मतको प्रक्रिया, मन्त्रालय बाँडफाँड र नेतृत्वका विवादका कारण त्यस गठबन्धन कमजोर हुँदै गएको थियो।
जनमत पार्टीले अघिल्लो सरकारमा पनि बाहिरबाट समर्थन गरेको थियो। तर पछिल्लो राजनीतिक अस्थिरताले संघीयता र संवैधानिक निरन्तरता नै जोखिममा पर्ने देखिएपछि जनमतले नयाँ विकल्प रोजेको बताइएको छ।
अब प्रदेश प्रमुखले दाबीपत्रको अध्ययन गरी संविधानबमोजिम आवश्यक निर्णय गर्ने तयारी गरेका छन्। नयाँ गठबन्धनको दाबी सफल भएमा कांग्रेस नेता कृष्ण प्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री बन्नेछन्।




प्रतिक्रिया !