लोक आवाज ,
सर्लाही, २२ असोज । प्रहरी चौकीमाथि आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार ४० वर्षीय वडाध्यक्ष दासलाई बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको हो। असोज १७ गते साँझ वडाध्यक्ष दासको नेतृत्वमा गोडैता प्रहरी चौकीमा भीड जम्मा भई ढुङ्गामुढा भएको थियो।
आक्रमणका क्रममा प्रहरी चौकी गोडैताका इन्चार्ज सई अवधेशप्रसाद यादवको दुई दाँत भाँचिएको छ भने अन्य पाँच जना प्रहरी कर्मचारी घाइते भएका छन्। घटनामा प्रयोग भएका ढुङ्गा र बाँसका भाठा प्रहरीले बरामद गरेको जनाएको छ। त्यस क्रममा चौकी परिसरमा पार्क गरिएका तीन वटा मोटरसाइकलमा समेत क्षति पुगेको बताइएको छ।
प्रहरीका अनुसार दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा सुरु भएको विवादले नै घटनाको रूप लिएको हो। गोडैता–७ का स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर–५ बस्ने ठेकेदार अनिलराय यादवलगायतले कुटपिट गरेको विषयमा वडाध्यक्ष दास नेतृत्वको समूह प्रहरी चौकी पुगेको थियो। सो विवाद मिलाउने प्रयत्न भइरहेकै बेला समूहले प्रहरीमाथि आक्रमण गरेको आरोप प्रहरीको छ।
घटनासँग सम्बन्धित ठेकेदार अनिलराय यादवलाई प्रहरीले पहिल्यै नियन्त्रणमा लिएको छ भने कुटपिटपीडित कारिल यादवलाई उपचारका लागि पठाइएको छ। वडाध्यक्ष दासलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको र उनीविरुद्ध कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन्।
वडाध्यक्ष दास पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ। उनका समर्थकहरू र स्थानीय व्यवसायीहरूले बजारका सबै पसल बन्द गर्दै प्रदर्शन गरेका छन्।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासमाथिको कारबाही राजनीतिक पूर्वाग्रहका कारण गरिएको दाबी गरेका छन्। “उनीमाथि लगाइएको आरोप पक्षपातपूर्ण छ, वास्तविकता राजनीतिक रूपमा तोडमोड गरिएको छ,” उनले भने।
तर प्रहरी अधिकारीहरूले भने दासमाथि ठोस प्रमाणका आधारमा कारबाही अघि बढाइएको स्पष्ट पारेका छन्। डिएसपी राईले भने, “यो सामान्य विवाद होइन। प्रहरी चौकीमाथि आक्रमण हुनु भनेको कानूनको शासनमाथि प्रत्यक्ष चुनौती हो। घटनामा संलग्न जो कोहीमाथि कानूनी कारबाही अनिवार्य हुन्छ।”




प्रतिक्रिया !