लोक आवाज ,
जनकपुरधाम, २२ असोज । मधेश प्रदेशको बदलिंदो सत्ता समीकरणबीच जनमत पार्टीले संघीयता र संविधानको रक्षा गर्ने उद्देश्यले सरकार निर्माणमा सहयोग गरेको दाबी गरेको छ।
जनमत पार्टीका नेता चन्दन सिंहले पार्टीले कुनै पनि व्यक्तिगत स्वार्थका लागि नभई देशमा देखिएको संवैधानिक रिक्तता टार्न र संघीयताको जरो बलियो बनाउन सरकार गठनमा साथ दिएको स्पष्ट पारेका छन्।
उनका अनुसार कांग्रेस र जनमतले विश्वासको मत फिर्ता लिएपछि तत्कालीन सरकारप्रमुखले प्रदेशसभा विघटन गर्ने तयारी गरिरहेका संकेत भेटिएका थिए। “हामीले समाचार पायौं, तीनवटै प्रदेशसभा विघटन गरेर संघीयताको अस्तित्वमै प्रश्न उठाउने प्रयास हुँदै थियो,” नेता सिंहले भने, “त्यसैले संविधानिक रिक्तता नहोस् र संघीयता धरापमा नपरोस् भनेर हामीले जिम्मेवार राजनीतिक शक्ति भएर कदम चाल्यौं।”
सिंहका अनुसार जनमत पार्टीको समर्थन सत्ताको स्वार्थका लागि नभई प्रणाली र लोकतान्त्रिक मूल्य जोगाउने प्रतिबद्धता हो। उनले थपे, “हाम्रो समर्थन सत्ताको रेसका लागि होइन, संविधान र संघीयता बचाउने प्रतिबद्धताको प्रतीक हो।”
जनमत पार्टीमाथि लागेको राजनीतिक आरोप अस्वीकार गर्दै सिंहले जसपा नेपाल र लोसपाले सरकार बनाउन नसक्दा त्यसको जिम्मेवारी जनमतमाथि थोपर्न खोजिएको आरोप लगाए। “जसपा नेपाल र लोसपाले सरकार बनाउन नसक्दा त्यो असफलता हाम्रो काँधमा हाल्नु अमिलो अंगुरको कुरा जस्तै हो,” उनले टिप्पणी गरे।
सिंहले स्मरण गराए कि जनमत पार्टीले अघिल्लो पटक पनि जसपा नेपाललाई समर्थन गरेको थियो। तर, यसपटक संवैधानिक शून्यता टार्न र प्रदेशमा स्थिरता कायम गर्न अर्को विकल्प रोजिएको बताए। “उहाँहरूले सरकार बनाउन सक्ने अवस्था भएको भए हामीले समर्थन नगर्ने कारण थिएन,” उनले भने, “तर, सरकार नबन्दा संघीयता नै जोखिममा पर्ने देखिएपछि हामीले जिम्मेवारीका साथ निर्णय गर्यौं।”
मधेश आन्दोलनको उपलब्धिका रूपमा आएको संघीयता निरन्तर चुनौतीमा रहेको भन्दै सिंहले मधेशका दलहरूलाई सत्ताको स्वार्थभन्दा माथि उठेर प्रणालीको रक्षा गर्न आग्रह गरे। “मधेश आन्दोलनले ल्याएको संघीयता बचाउन सबै दल एकजुट हुनुपर्छ,” उनले भने, “सरकार आउँछन्, जान्छन्, तर संघीयता धरासायी भयो भने आन्दोलनको उपलब्धि नै समाप्त हुन्छ।”
सिंहले जनमत पार्टी सत्ताको प्रतिस्पर्धाभन्दा बाहिर रहेर पनि जनताको पक्षमा निरन्तर सक्रिय रहेको जनाए। “हामी सत्ताको रेसमा छैनौं, तर जनताको बीचमा छौं,” उनले भने, “मधेशको पहिचान, स्वायत्तता र समान अवसरका लागि हाम्रो संघर्ष निरन्तर रहनेछ।”




प्रतिक्रिया !