अविरल वर्षापछि सर्लाहीमा भीषण बाढी, हुलाकी सडक बग्दा आवागमन ठप्प

अविरल वर्षापछि सर्लाहीमा भीषण बाढी, हुलाकी सडक बग्दा आवागमन ठप्प

लोक आवाज ,

सर्लाही , १९ असोज । अविरल वर्षापछि आएको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–२ र ३ स्थित हुलाकी सडकको करिब १५ मिटर भाग बगाएको छ । सडक बग्दा क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बाढीले लखन्देही नदीको बाँध समेत भत्काउँदा कौडेना–७ शिवनगर गाउँ डुबानमा परेको छ । नदीमा आएको बाढीले कौडेनास्थित हुलाकी सडक बगाउँदा दक्षिण–पश्चिम सर्लाहीका गोडैता, बलरा नगरपालिका र रामनगर, बसबरिया तथा धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँग सिधा सम्पर्क टुटेको छ ।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, बाँध भत्किएपछि स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा शिवनगरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बलरा नगरपालिका–२ मा समेत सयौं घर डुबानमा परेका छन् । अन्य प्रभावित बस्तीहरूमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा अत्यधिक क्षति भएको बताउँदै प्रहरीले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र अस्थायी राहत शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

भारी वर्षाका कारण जिल्लामा विद्युत् आपूर्ति अनियमित बनेको छ भने कतिपय स्थानमा मोबाइल नेटवर्क अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार