लोक आवाज ,
काठमाडौँ ,१३ अशोज । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैंमा टीका–जमरा नलगाउने निर्णय गरेकी छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयले आइतबार एक सार्वजनिक पत्रमार्फत यस्तो जानकारी दिएको हो। पत्रमा उल्लेख भएअनुसार, प्रधानमन्त्रीले व्यक्तिगत रूपमा पनि टीका नलगाउने र नागरिकलाई समेत टीका लगाउने औपचारिक कार्यक्रम नरहने स्पष्ट पारेकी छन्।
सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाएको पीडा अझै ताजा छ। ती शहादतलाई स्मरण गर्दै प्रधानमन्त्रीज्यूले यस वर्ष बडादसैंको अवसरमा टीका–जमरा नलगाउने निर्णय गर्नुभएको हो।”
प्रधानमन्त्रीको कार्यालयले जारी गरेको बयानमा यो पर्व नेपाली समाजमा पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक समन्वयको प्रतीक रहेको उल्लेख गरिएको छ। त्यसैगरी, सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिँदै, धार्मिक र सांस्कृतिक रुपमा पर्वलाई सम्मानपूर्वक तर सरल रुपमा मनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै, सरकारले तय गरेको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने र सुशासनलाई प्रभावकारी बनाउन निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता पनि दोहोर्याइएको छ।
यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरेका छन्। उनले आइतबार सार्वजनिक गरेको सन्देशमा भनेका छन्, “हामी पारिवारिक र सांस्कृतिक रुपमा मात्र यो पर्व मनाउन बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं वृहत्तरुपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौं।”
पूर्वराजाले दिएको सन्देश र प्रधानमन्त्रीले गरेको निर्णयसँगै यस वर्ष बडादसैंको वातावरण केही फरक हुने अनुमान गरिएको छ। अघिल्ला वर्षहरूमा प्रधानमन्त्री तथा पूर्वराजाले टीका लगाइदिने कार्यक्रमलाई परम्परा र राजनीतिक सन्देशसँग जोडेर हेरिँदै आएको थियो। तर यसपटक दुवै उच्च व्यक्तित्वले टीका वितरण कार्यक्रम नगर्ने घोषणा गरेपछि धेरैको ध्यान यसले आकर्षित गरेको छ।
यता, आम नागरिक स्तरमा भने यस निर्णयलाई विभिन्न दृष्टिले व्याख्या भइरहेको छ। कतिपयले देशमा भएका दुःखद घटनाप्रति संवेदनशील भएर गरिएको निर्णय भन्दै स्वागत गरेका छन् भने कतिपयले यो कदमले लामो समयदेखि चलिआएको राज्य–सामाजिक परम्परा खल्बल्याउने टिप्पणी गरेका छन्।
यद्यपि, दुबै पक्षको साझा धारणा भने यही छ कि बडादसैं नेपाली समाजको महत्वपूर्ण पर्व हो, जसले पारिवारिक एकता, धार्मिक आस्था र सामाजिक सद्भावलाई बलियो बनाउने अवसर प्रदान गर्नेछ।




प्रतिक्रिया !