मुग्लिन–नारायणगढ सडकखण्डमा तुइनखोलामा पुनः पहिरो, दुईतर्फी यातायात ठप्प

 मुग्लिन–नारायणगढ सडकखण्डमा तुइनखोलामा पुनः पहिरो, दुईतर्फी यातायात ठप्प

 

लोक आवाज ,

जनकपुरधाम , १३ अशोज । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक सोमबार फेरि ठूलो पहिरो खसेपछि सडक दुबै तर्फ अवरुद्ध बनेको छ। बिहान करिब साढे ७ बजे खसेको पहिरो केही समयपछि हटाइएर सवारीसाधनको आवागमन सामान्य अवस्थामा फर्किएको थियो। तर, दिउँसो करिब १२ बजे पुनः ठूलो परिमाणमा माटो र ढुंगा खसेपछि सडक पूर्णरुपमा बन्द भएको चितवन सडक डिभिजन कार्यालयले जनाएको छ।

यसअघि पनि यही स्थानमा पटक–पटक पहिरो खस्दा यात्रु र स्थानीयवासी प्रभावित हुँदै आएका छन्। वर्षा सुरु भएपछि उक्त क्षेत्रमा सतत पहिरो खस्ने क्रम देखिएको छ। डिभिजन कार्यालयका इन्जिनियरहरुका अनुसार हाल पनि माथिबाट माटो खस्ने क्रम रोकिएको छैन। पहिरो झर्ने क्रम निरन्तर रहेकाले तत्काल मशीन प्रयोग गरेर सडक खुलाउने काम सुरु गर्न सकिएको छैन।

सडक अवरुद्ध भएपछि चितवन हुँदै आउने र जाने सबै सवारी साधन बीचैमा रोकिएका छन्। यात्रुहरु सडकमा नै अलपत्र परेका छन् भने लामो दूरीका मालवाहक ट्रक, बस तथा एम्बुलेन्स समेत अघि बढ्न नसक्ने अवस्थामा छन्। स्थानीय प्रशासनले यात्रुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

डिभिजन कार्यालयका अनुसार मौसम सामान्य भएपछि मात्र पहिरो पन्छाउने काम सुरु गर्न सकिनेछ। अहिले ठूलो जोखिम हुने भएकाले तत्काल डोजर चलाउन सकिँदैन। “पहिरो झर्ने क्रम रोकिएलगत्तै सफाइ सुरु हुन्छ,” डिभिजन कार्यालयले जनाएको छ।

मुग्लिन–नारायणगढ सडक मुलुककै महत्वपूर्ण व्यापारिक मार्ग हो। तर, लगातारको पहिरोका कारण सडक कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ। यसले दैनिक यात्रु, व्यवसायी तथा स्वास्थ्य सेवा लिन काठमाडौं वा पोखरा गइरहेका बिरामीलाई समेत ठुलो समस्या परेको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार