लोक आवाज ,
जनकपुरधाम, १० अशोज । धनुषामा झिझिया नाच हेर्न जाँदै गरेका तीन युवक सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
घटना बिहीबार राति करिब १०:३० बजे कमला नगरपालिका–२ माचि र वडा नं. ३ लगमाको बीचमा पर्ने खोक्साहा पुलमा भएको हो। भारतीय नम्बर प्लेट BR 32A S7988 नम्बरको हिरो स्प्लेन्टर मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र सोही स्थानका १६ वर्षीय कुश मिश्रको ज्यान गएको हो। दुबै जना स्थानीय विक्रम यादव र देव मिश्रका छोरा भएको पुष्टि भएको छ। यस्तै, सोही स्थानका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै उद्धार गरी जनकपुर प्रादेशिक अस्पतालमा उपचारको लागि पठाइएको छ।
दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिंदै चालकले मादक पदार्थ सेवन गरी उच्च गतिमा सवारी चलाउँदा नियन्त्रण गुमेको प्रारम्भिक निष्कर्ष दिएको छ।
स्थानीय हरूका अनुसार दुर्घटना राति झिझिया नाच हेर्न लगमा बजारतर्फ जाँदै गर्दा भएको हो। दशैं तिहारका बेला मिथिला क्षेत्रका विभिन्न गाउँठाउँमा आयोजना हुने झिझिया नाच हेर्न हजारौंको भीड लाग्ने गर्दछ। त्यही क्रममा तीन युवकहरू मोटरसाइकलमा सवार भई कार्यक्रमतर्फ जाँदै गर्दा दुर्घटना भई दुःखद मृत्यु भएको हो।
प्रहरीले मृतकहरूको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यस प्रकारको घटनाले फेरि पनि सडक सुरक्षा, विशेष गरी मादक पदार्थ सेवनपश्चात सवारी सञ्चालनको गम्भीर जोखिमलाई उजागर गरेको छ। प्रहरी प्रशासनले चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी नचलाउन अपिल गरेको छ ।




प्रतिक्रिया !