लोक आवाज ,
काठमाडौं , ७ अशोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुनले आज मन्त्रालयमा बसेको बैठकमार्फत शिक्षा क्षेत्र सुधारका लागि तीन महत्वपूर्ण निर्देशन दिएका छन्। मन्त्री पुनले विद्यालयदेखि विश्वविद्यालयसम्मका चुनौतीलाई सम्बोधन गर्ने गरी तुरुन्तै काम अघि बढाउन सम्बन्धित निकायलाई आदेश दिएका हुन्।
पहिलो निर्देशन सामुदायिक विद्यालयलाई लक्षित छ। हालसम्म देशभरका धेरै माध्यमिक विद्यालयमा कम्प्युटर विषय पढाइ भए पनि शिक्षकको अभावका कारण विद्यार्थीहरू वञ्चित भइरहेका छन्। यस समस्यालाई समाधान गर्न मन्त्री पुनले हरेक सामुदायिक माध्यमिक विद्यालयमा अनिवार्य रूपमा एक दरबन्दी कम्प्युटर शिक्षक थप्ने तयारी तत्काल अघि बढाउन निर्देशन दिएका छन्। उनका अनुसार प्राविधिक ज्ञान र डिजिटल सीप बिना आजको पुस्ता प्रतिस्पर्धी बन्न सक्दैन।
दोस्रो निर्देशन विश्वविद्यालयलाई केन्द्रित छ। केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउने गरेका गुनासो विद्यार्थी र अभिभावकले गर्दै आएका छन्। यस ढिलासुस्तीले विद्यार्थीहरूको जीवनमा अपूरणीय क्षति पुगेको भन्दै मन्त्री पुनले अब अनिवार्य रूपमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका छन्। साथै, समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको सरकारी अनुदान रोक्का गर्ने चेतावनीसमेत दिएका छन्। उनले उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय परीक्षा बोर्डले पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कक्षा १२ को नतिजा समेत तीन महिनाभित्र प्रकाशन गरेको उल्लेख गरेका छन्।
तेस्रो निर्देशन त्रिभुवन विश्वविद्यालय किर्तिपुर परिसरलाई लक्षित छ। विश्वविद्यालयको विशाल क्षेत्रफलमा झाडी र अव्यवस्थित ठाउँले आकर्षण घटाएको भन्दै मन्त्री पुनले ठूला रुखहरू नकटाई झाडी सफा गरी सुन्दर बगैंचा बनाउन र विद्यार्थी तथा आगन्तुकलाई सहज हुने गरी फुटपाथ निर्माण गर्न आदेश दिएका छन्। उनका अनुसार यसले त्रिवि क्याम्पसलाई शिक्षण मात्र नभई सौन्दर्य र शैक्षिक पर्यटनको दृष्टिले पनि आकर्षक बनाउनेछ।




प्रतिक्रिया !