सिरहामा अपहरणपछि बालकको हत्या, आमाको मोबाइलमा आयो फिरौतीको म्यासेज

सिरहामा अपहरणपछि बालकको हत्या, आमाको मोबाइलमा आयो फिरौतीको म्यासेज

 

लोक आवाज ,

सिरहा, ७ आश्विन । सिरहामा एक १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटना बाहिर आएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंह सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार अभिषेकको शव घर नजिकै रहेको आँप बगैँचामा भेटिएको हो। घटनास्थलमा थप अनुसन्धानका लागि डग टोली बोलाउने तयारी भइरहेको उनले जानकारी दिए।

परिवारजनका अनुसार अभिषेक आइतबार राति करिब ८ बजे घरबाट अचानक हराएका थिए। खोजतलास गर्दा रातभर फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे पीडित परिवारले एकदमै आत्तिने परिस्थितिको सामना गर्नुपर्‍यो। अभिषेककै मोबाइलबाट आमाको मोबाइलमा आएको म्यासेजमा उनलाई अपहरण गरिएको र फिरौती मागिएको उल्लेख थियो। त्यसपछि तत्कालै प्रहरीलाई जानकारी दिइएको प्रहरी निरीक्षक यादवले बताए।

प्रहरीले अपहरणको म्यासेज आएको समयदेखि नै खोजीलाई तीव्रता दिएको भए पनि सोमबार बिहान नै बालक मृत भेटिएपछि घटना झनै संवेदनशील बनेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई शंका गरी अनुसन्धानको घेरामा ल्याएको जनाएको छ।

स्थानीय बासिन्दाले यस घटनाले सम्पूर्ण क्षेत्र त्रसित बनेको बताएका छन्। उनीहरूका अनुसार यस प्रकारका घटनाले बालबालिका मात्र नभई आमनागरिक नै असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएको छ। पीडित परिवार अहिले आघातमा रहेका छन् भने स्थानीयबासीले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

प्रहरी निरीक्षक यादवले भने, “अहिले अनुसन्धानको प्रारम्भिक चरणमा छौं। घटनाको वास्तविक कारण र संलग्नहरू पहिचान गर्न गहिरो अनुसन्धान भइरहेको छ। दोषी जो भए पनि कानुनी दायरामा ल्याइनेछ।”

यसैबीच, बालक अभिषेकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको छ। घटनापछि गोलबजार क्षेत्र शोकाकुल बनेको छ भने सर्वसाधारणले यस्ता अपराधलाई निर्मूल गर्न राज्यलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार