लोक आवाज,
पर्सा, असोज ४ । चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि पर्सा जिल्लाका धेरै स्थानीय तहहरू बैंक खाता सञ्चालनमा ल्याउन असफल भएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार जिल्लाका १४ वटा स्थानीय तहमध्ये ९ पालिकाले आवश्यक कानुनी प्रक्रिया नपु¥याउँदा खाता अझै अवरुद्ध रहेको हो। कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार, खातासम्बन्धी प्रक्रिया पूरा नभएकाले ती पालिकाहरूमा कर्मचारीको तलब–भत्ता, दैनिक प्रशासनिक खर्च र विकास निर्माणका गतिविधि पूर्ण रूपमा ठप्प भएका छन्।
कसरी रोकियो खाता सञ्चालन?
जोशीका अनुसार, चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट गाउँरनगर सभाबाट पारित गरेर कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। साथै, प्रमुख प्रशासकीय अधिकृत ९सीएओ० लाई कार्यकारी अधिकार हस्तान्तरण गर्नुपर्ने भए पनि धेरै पालिकाहरूले यो प्रक्रिया पूरा गरेका छैनन्।
उनले भने, “स्रोत साधनको लिपिबद्धता, कानुनी प्रक्रिया र अधिकार हस्तान्तरण नहुँदा खाता सञ्चालन असम्भव हुन्छ।”
खाता नखुलेका पालिकाहरू;
विन्दवासिनी गाउँपालिका
कालिकामाई गाउँपालिका
जगरनाथपुर गाउँपालिका
जिराभवानी गाउँपालिका
धोविनी गाउँपालिका
ठोरी गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका
सखुवाप्रसौनी गाउँपालिका
बहुदरमाई नगरपालिका
यी पालिकाहरूमा प्रशासनिक सेवा मात्र होइन, आधारभूत जनसेवा र विकास निर्माणका कामहरू पनि अवरुद्ध अवस्थामा छन्।
सञ्चालनमा आइसकेका पालिकाहरू;
वीरगञ्ज महानगरपालिका
पर्सागढी नगरपालिका
पोखरिया नगरपालिका
छिपहरमाई गाउँपालिका
पर्टेवासुगौली गाउँपालिका
यी पाँच पालिकाले भने आवश्यक प्रक्रिया पूरा गरी खाता सञ्चालनमा ल्याइसकेका छन्, र तिनीहरूले नियमित प्रशासनिक काम र विकास कार्यक्रमहरू अघि बढाइरहेका छन्। स्थानीय सरकारहरूको ढिलासुस्तीका कारण आम नागरिक सेवाबाट वञ्चित भइरहेका छन् भने योजनाहरू समयमै कार्यान्वयन नहुन सक्ने चिन्ता पनि बढ्दै गएको छ।




प्रतिक्रिया !